विकासशीलमा स्तरोन्नति समय थप्न महासंघ अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाललाई अति कम विकसित देश (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति गर्नुअघि पुनर्मूल्याङ्कन गरी कम्तीमा तीन वर्षको समय थप्न सरकारलाई आग्रह गरेका छन् ।
सोमबार योजना आयोगमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले बंगलादेशले जस्तै नेपालले पनि समय सीमा विस्तारको पहल गर्नुपर्ने बताए । उनका अनुसार, स्तरोन्नति खुसीको विषय भए पनि यसले उत्पादन, रोजगारी र निजी क्षेत्रमा गम्भीर असर पार्ने सम्भावना छ ।
“अहिले जबरजस्ती धनी हुने निर्णय गर्नु निजी क्षेत्रको उत्पादन र रोजगारीमा घातक हुनेछ,” उनले भने ।
ढकालले २०२१ मा नेपालले प्रतिव्यक्ति आयको मापदण्ड पूरा नगरी स्तरोन्नतिको निर्णय भएको स्मरण गर्दै अहिले पनि औसत आय पुगे पनि अर्थतन्त्र जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गरे ।
उनले स्तरोन्नतिले विशेष गरी साना उद्यमी र महिलाहरूको रोजगारीमा प्रतिकूल असर पार्ने चेतावनी पनि दिए । साथै, साफ्टा अन्तर्गत उत्पत्तिको नियम र युरोपको जीएसपी वा जीएसपी प्लसका कठोर शर्तले नेपालको निर्यात उद्योगमा असर पर्ने बताए ।
ढकालका अनुसार, जीएसपी सुविधाका लागि अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धी ८७ पारित गर्नुपर्ने हुन्छ, जसले नेपालको श्रम सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्छ । यस विषयमा महासंघले सम्बन्धित निकायहरूलाई अवगत गराइसकेको उनले जानकारी दिए ।
