आइतबार २१ मंसिर, २०८२

बिग्रियो धर्मेन्द्रको स्वास्थ्य अवस्था, अस्पतालमा भर्ना

बिग्रियो धर्मेन्द्रको स्वास्थ्य अवस्था, अस्पतालमा भर्ना

नयाँ दिल्ली । ६० र ७० को दशकका लोकप्रिय बलिउड अभिनेता धर्मेन्द्र बिरामी परेका छन् । उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । अभिनेता उमेरसँग सम्बन्धित जटिलताबाट पीडित भएको बताइएको छ । फ्यानहरूले उनको शीघ्र स्वास्थ्यलाभको लागि निरन्तर प्रार्थना गरिरहेका छन् ।
 
उमेरसँग सम्बन्धित समस्याका कारण धर्मेन्द्र स्वास्थ्य निरन्तर खस्कँदै गएको खबर आइरहेको छ । धेरै समयदेखि उनी उमेरसँग सम्बन्धित समस्याहरू भोगिरहेका थिए । अभिनेतालाई करिब १० दिन अघि पनि अस्पतालमा भर्ना गरिएको थियो । अभिनेताको टोलीले त्यतिबेला दिएको स्वास्थ्य अपडेटका अनुसार यो उनको नियमित जाँचको एक हिस्सा थियो ।
 
केही दिन अघि, फोटोग्राफरहरूले हेमा मालिनीलाई धर्मेन्द्रको स्वास्थ्यको बारेमा सोध्दा उनी ठीक भएको संकेत गरेकी थिइन् । हात जोडेर हेमाले धर्मेन्द्र अब राम्रो भएको बताएकी थिइन् । अभिनेता अस्पतालमा भर्ना हुनु परेको यो पहिलो पटक होइन । धर्मेन्द्र यसअघि पनि धेरै पटक नियमित चेकअपका लागि अस्पताल भर्ना भइसकेका छन् । उनी ८९ वर्षका छन् र आफ्नो स्वास्थ्यप्रति धेरै सतर्क छन् । हालै, अभिनेता उपचारका लागि अमेरिका गएका थिए ।
 
धर्मेन्द्र हिन्दी सिनेमाका चर्चित स्टार हुन् । उनले आफ्नो करियरमा कयौं एक्सन फिल्ममा काम गरेका छन् । उनी हिन्दी सिनेमाको ही–म्यान भनेर चिनिन्छन् । उनले चुपके चुपके (१९७५), प्रतिज्ञा (१९७५) देखि यमला पगला दिवाना (२०११) सम्मका धेरै कमेडी फिल्ममा पनि खेलेका छन् । ८० र ९० को दशकमा, धर्मेन्द्र चरित्र भूमिकामा देखा परे । उनी यस दशकमा पनि ठूलो पर्दामा निकै सक्रिय पनि रहेका थिए ।