फिलिपिन्समा अर्को समुद्री आँधी, ६ जनाको मृत्यु
मनिला । फिलिपिन्समा शक्तिशाली समुद्री आँधीले २०० भन्दा बढी व्यक्तिको ज्यान लिएको केही दिनपछि आएको अर्को समुद्री आँधीका कारण कम्तिमा छ जनाको मृत्यु भएको छ । समुद्री आँधी फङ–वङसँगै बाढी र पहिरो पनि आएको समाचारमा उल्लेख छ ।
आँधीका कारण पहिरो जानु अघि नै फिलिपिन्समा १४ लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो । आँधी ताइवानतर्फ सर्दै गइरहेको छ । ताइवानमा पनि ३० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
यस वर्ष फिलिपिन्समा आएको फङ–वङ २१ औं समुद्री आँधी थियो । एक पछि अर्को गर्दै समुद्री आँधी आइरहँदा मानिसहरूलाई सामान्य जनजीवनमा फर्किनै सकस भइरहेको छ । स्थानीय रूपमा उवान भनेर चिनिने फङ–वङ आइतबार राति लुजोनको अरोरा प्रान्तमा लगभग १८५ किलोमिटर प्रतिघण्टा (११५ माइल प्रतिघण्टा)को वेगमा आएको थियो ।
फिलिपिन्सको मौसम विज्ञान विभागले यस अघि नै विनाशकारी आँधी आउने भन्दै जीवन उच्च जोखिममा पर्न सक्ने चेतावनी दिएको थियो ।
