आइतबार २१ मंसिर, २०८२

नेपाल प्रिमियर लिगको दोस्रो सिजनलाई पनि एनसेलकै साथ

नेपाल प्रिमियर लिगको दोस्रो सिजनलाई पनि एनसेलकै साथ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणको चर्चा चल्दै गर्दा एनसेलले यस वर्ष पनि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो ‘पावर्ड बाई’ साझेदारीलाई निरन्तरता दिने घोषणा गरेको छ ।

व्यावसायिक फ्रेन्चाइजमा आधारित यस टी-ट्वान्टी प्रतियोगिता १ मंसिरदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ ।

क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले यो भव्य महाउत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थिमसहित सहकार्य गरिएको एनसेलले जनाएको छ ।

“हालैका टी-ट्वान्टी प्रदर्शनले सबै नेपालीलाई गौरवान्वित बनाएको छ । त्यसैले क्रिकेटको यो भव्य महाउत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थिमसहित ‘पावर्ड बाई’ पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं,”  एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “फ्यानलाई घर, बाटो, अफिस, काम, कार्यालय, देश वा विदेश जहाँ भए पनि एनसेलको कनेक्टिभिटीमार्फत उनीहरूलाई यस संस्करणको हरेक क्षणसँग जोडिरहनेछौं ।”

एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत लाइभ एनपीएलका खेलहरू जुनसुकै स्थानबाट हेर्न सकिने सुविधा पनि प्रदान गर्नेछ ।

क्रिकेटको विकासका लागि एनसेलसँगको निरन्तर सहकार्यले नेपाली क्रिकेट र एनपीएललाई विश्वसामु स्थापित बनाउन ठुलो महत्त्व राख्ने नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बताए ।

“क्रिकेटको विकासका लागि हाम्रो सहकार्यलाई निरन्तरता दिँदै एनपीएल दोस्रो संस्करणमा पनि ‘पावर्ड बाई’ पार्टनरका रूपमा एनसेललाई पाउँदा हामी धेरै खुसी छौं,” खड्काले भने, “यो खेलले सबैलाई जोड्छ, त्यसैले हामी उत्साहित छौं र तयारी पनि अन्तिम चरणमा पुगिसकेको छ । खेलकुदको विकास र प्रवर्द्धनमा एनसेलको यो सहयोगका लागि नेपाल क्रिकेट संघ आभारी रहेको छ ।”

एनसेलले आफ्नो स्थापना कालदेखि नै नेपालमा खेलकुदको विकास र प्रतिभा विकासमा योगदान दिँदै आएको छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा-खेलाडीलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सहयोग गरेको छ ।