१ अर्बको टेन्डर खुला : मेलम्ची खानेपानी मुहान सडक स्तरोन्नति परियोजना अघि बढ्यो
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स) जाने सडक स्तरोन्नति परियोजना रु १ अर्ब बराबरको ठेक्का योजना सहित बुधबार टेन्डर चरणमा पुगेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिबीच मंगलबार भएको सहमतिपछि चरिकोट सडक डिभिजनले १७ किलोमिटर मेलम्ची–अम्बाथान–मेलम्चीघ्याङ सडकखण्डलाई तीन प्याकेजमा विभाजन गरी स्तरोन्नति टेन्डर आह्वान गरेको हो।
रु २५ करोड विनियोजन भइसकेको र बाँकी रकम बहुवर्षीय योजना अन्तर्गत चरणबद्ध रूपमा खर्च गरिनेछ। परियोजनालाई दीर्घकालीन लगानीमैत्री पूर्वाधार विकासका रूपमा हेरिएको छ, जसले स्थानीय रोजगारी, यातायात पहुँच र निर्माण क्षेत्रको गतिशीलता बढाउने अपेक्षा गरिएको छ।
सहमतिअनुसार स्थानीय भेन्डर बक्यौता, बाढीपीडित क्षतिपूर्ति, र सामाजिक उत्थानका लागि रु २३ करोडभन्दा बढी रकम निकासाको प्रक्रिया पनि सुरु गरिनेछ।
सहमतिपत्रमा खानेपानी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवहरू, स्थानीय प्रतिनिधि र मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासलगायतले हस्ताक्षर गरेका छन्। सहमतिमा मन्त्री कुलमान घिसिङको उपस्थिति रहनुले आयोजना पुनरुत्थान र जोखिम न्यूनीकरणप्रति सरकारी प्रतिबद्धता प्रष्ट पारेको छ।
