१ अर्ब ३९ करोडको नोट छपाइ सम्झौता, पचास रुपियाँको १४ करोड थान नोट छपाइ हुने
काठमाडौं । नेपाल राष्ट्र बैंक (NRB) ले नयाँ बैंकनोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि चीनस्थित सरकारी कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन (CBPMC) सँग करिब १ अर्ब ३९ करोड रुपैयाँ (USD 10.42 million) बराबरको सम्झौता गरेको छ।
मुद्रा व्यवस्थापन विभागले जारी गरेको सार्वजनिक सूचनाअनुसार, उक्त सम्झौता २०८२ कात्तिक २५ गते (११ नोभेम्बर २०२५) मा सम्पन्न गरिएको हो। सम्झौता अन्तर्गत रु.५० दरका १४ करोड थान नयाँ बैंकनोट डिजाइन, छपाइ र आपूर्ति गरिनेछ।
राष्ट्र बैंकले गत असार ९ गते अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको थियो। सो बोलपत्र (IFB No: NRB/CMD/ICB/G-01/082/83) का प्रतिस्पर्धीमध्ये चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन न्यूनतम मूल्याङ्कन प्राप्त गर्दै सफल बोलकर्ता बनेको हो।
राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा बैंकनोट छपाइका लागि विदेशी कम्पनीहरूसँग सम्झौता गर्दै आएको छ। यस पटकको सम्झौता बैंकनोटको गुणस्तर, सुरक्षा मापदण्ड र मुद्रण दक्षता सुधार गर्ने दीर्घकालीन रणनीतिक योजनाको निरन्तरता हो।
अन्तर्राष्ट्रिय स्तरमा सुरक्षित र दिगो मुद्रण प्रविधि प्रयोग गर्ने उद्देश्यसहित राष्ट्र बैंकले मुद्रा व्यवस्थापन प्रणालीलाई आधुनिक बनाउन विभिन्न प्रविधिमूलक सुधार गरिरहेको छ।
