आइतबार २१ मंसिर, २०८२

चीनले ऊन्युको पातबाट निकाल्यो दूर्लभ धातु मोनाजाइट

चीनले ऊन्युको पातबाट निकाल्यो दूर्लभ धातु मोनाजाइट

काठमाडौँ । पछिल्लो समय देशहरूकाबिचमा दुर्लभ खनिजका लागि लडाइँ भइरहेको छ । यस्ता खनिजको सबैभन्दा ठुलो भण्डार भएको देशले भविष्यमा धेरै कुरामा नियन्त्रण हासिल गर्नेछ । यसबिच, वैज्ञानिकहरूले एउटा महत्त्वपूर्ण खोज गरेका छन् ।

दुर्लभ धातुहरूको स्रोत फेला पार्ने र वातावरणमैत्री तरिकाले निकाल्ने खोजमा चिनियाँ नेतृत्वको एक वैज्ञानिक टोलीले महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन् । 

एउटा ज्यूँदो ऊन्युको बिरुवाभित्र प्राकृतिक रूपमा हुने मोनाजाइट खनिजहरू पत्ता लगाएको दाबी उनीहरूले गरेका छन् । यो खनिज बहुमूल्य दुर्लभ धातुहरूले भरिपूर्ण छ र आधुनिक प्रविधिको लागि आवश्यक मानिन्छ ।

साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्ट अनुसार, वैज्ञानिकहरूले हाइपर–अक्यूमुलेटर भनिने विशेष बिरुवामा सानो आकारका मोनाजाइट खनिजहरू पत्ता लगाएका छन् ।

यसको पात र तन्तुमा वरपरको माटो भन्दा सयौँ गुणा बढी धातु जम्मा पारेर राख्ने क्षमता पाइएको छ । यसभित्र दुर्लभ पृथ्वी धातु खनिजहरू बनेको घटना यस अघि कहिल्यै देखिएको थिएन । अध्ययनको प्रतिवेदन यही महिना वातावरणीय विज्ञानको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएको छ ।

उत्खननमा अब होला त बोट बिरुवाको प्रयोग ?

अनुसन्धानका अनुसार यो खोजले फाइटोमाइनिङ अर्थात् बोटबिरुवाहरू प्रयोग गरेर खानीलाई ठुलो मात्रामा सफल र व्यावहारिक बनाउन सक्छ ।

यो प्रविधिले उत्खनन, भारी मेसिनरी वा प्रदूषणको आवश्यकतालाई पनि हटाउँछ । बिरुवाहरूले आफैँले माटोबाट धातुहरू अवशोषित गर्छन् र तिनीहरूलाई आफैँ भित्र भण्डारण गर्छन् । यसलाई सुरक्षित रूपमा निकाल्न सकिन्छ ।

यो अनुसन्धान चीनको ग्वाङ्झाउ इन्स्टिच्युट अफ जियोकेमिस्ट्री र अमेरिकाको भर्जिनिया टेकका वैज्ञानिकहरूको टोलीले गरेका हुन् । 

उनीहरूले दक्षिणी चीनको माटोबाट ब्लेकनम ओरिएन्टेल नामक ऊन्युको प्रजातिको नमुनाहरू सङ्कलन गरेका  थिए । विश्लेषणको क्रममा ऊन्युको पातमा सबैभन्दा धेरै दुर्लभ धातुहरू केन्द्रित भएको पाइयो । यसको जरा र डाँठमा पनि यी धातु भेटिएको थियो ।

केमा प्रयोग हुन्छ मोनाजाइट ?

सामान्य तापक्रममा मोनाजाइट बिरुवाको बाहिरी तन्तुमा क्रिस्टलाइज भएर बसेको अध्ययनमा पाइयो । यो खनिज सामान्यतया अत्यधिक गर्मी र दबाबमा बन्छ । मोनाजाइटमा सेरियम, ल्यान्थानम र नियोडिमियम जस्ता धातुहरू हुन्छन् । 

यो खनिज ताप, विकिरण र क्षरण प्रतिरोधी हुन्छ । त्यसैले, यसलाई लेजर, प्रकाश उत्सर्जक यन्त्र, उद्योगमा उच्च–तापमान भएका कोटिंग्स र रेडियोधर्मी फोहोरको व्यवस्थापनमा प्रयोग गरिन्छ ।