भित्रियो दुई खर्ब रेमिट्यान्स, तीन महिनामा ३५.४ प्रतिशतको वृद्धि
काठमाडौं । चालु आर्थिक बर्ष २०८२–८३ को पहिलो तीन महिनामा पाँच खर्ब ५३ अर्ब ३१ करोड रूपियाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको असोज महिनासम्मको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विषयक प्रतिवेदनले यस्तो देखाएको हो ।
यो गत आवको पहिलो तीन महिनाको भन्दा ३५.४ प्रतिशतले बढी हो । गत आवको पहिलो तीन महिनामा चार खर्ब सात अर्ब ३१ करोड रूपियाँ रेमिट्यान्स भित्रिएको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या बढ्दै गएपछि उनीहरूले पठाउने रेमिट्यान्स पनि बढ्दै गएको छ ।
तथ्यांक अनुसार असोज महिनामा मात्रै दुई खर्ब एक अर्ब २२ करोड रूपियाँ रेमिट्यान्स भित्रिएको छ । मासिक रुपमा यो हाल सम्मकै उच्च हो । असोजमा हिन्दु नेपालीहरूको महान पर्व दशैं थियो । यसैगरी कात्तिक पहिलो साता तिहार पर्व थियो । जुन बेला आर्थिक आवश्यकता बढी हुन्छ ।
विदेशमा गएको नेपाली कामदारले पनि घर परिवारलाई दशैं तिहार मनाउन का लागि अघि पछि भन्दा धेरै पैसा पठाइदिने गर्छन् । त्यसले गर्दा पनि असोजमा रेमिट्यान्स आप्रवाह उच्च भएको बताइएको छ ।
गत बर्षको असोज महिनामा एक ४४ अर्ब १७ करोड रूपियाँ रेमिट्यान्स आएको थियो । तथ्यांक अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९।२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ ।
