आप्रवासी सवार दुई डुङ्गा पल्टिँदा लिबिया तटमा ४ जनाको मृत्यु
त्रिपोली । लिबियाको तटमा आप्रवासीहरू सवार दुई वटा डुङ्गा पल्टिँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । यो दुर्घटना तटीय सहर अल–खुम्समा बिहीबार राति भएको लिबियन रेड क्रेसेन्टले भनेको छ ।
पहिलो डुङ्गामा २६ जना बङ्गलादेशी सवार रहेको र मर्नेमध्ये सबै यहीँ डुङ्गाको भएको बताइएको छ । दोस्रो डुङ्गामा भने ६९ जना सवार थिए । यसमा दुई जना इजिप्सियन र दर्जनौँ सुडानी सवार रहेको बताइएको छ ।
यो डुङ्गामा सवारहरूलाई के भयो भन्ने थाहा हुन सकेको छैन । दोस्रो डुङ्गामा ८ जना बालबालिका पनि थिए । पछिल्लो समय लिबिया युरोप पस्ने आप्रवासीको लागि ट्रान्जिट बनेको छ ।
