निक्षेपभन्दा कर्जा ब्याजदरमा ठूलो गिरावट, औसत ब्याजदर ७.५ प्रतिशतमा
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूले लगानीमा लिने कर्जा ब्याजदर निक्षेपको तुलनामा धेरै घटेको देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आवको असोज मसान्तसँग तुलना गर्दा वाणिज्य बैंकहरूको औसत कर्जा ब्याजदर १.८३ प्रतिशत विन्दुले घटेर ७.५ प्रतिशत पुगेको छ। त्यही अवधिमा निक्षेपको औसत ब्याजदर १.३९ प्रतिशत विन्दुले घटेर ३.८५ प्रतिशतमा कायम भएको छ।
गत आर्थिक वर्ष असोजमा वाणिज्य बैंकको औसत कर्जा ब्याजदर ९.३३ प्रतिशत र निक्षेप ब्याजदर ५.२४ प्रतिशत थियो। ब्याजदरमा कर्जा र निक्षेपबीचको अन्तर कम हुनुको मुख्य कारण ब्याजदर करिडोर हो। बैंकहरूले करिडोरको तल्लो सीमा (२.७५%) भन्दा कम ब्याजदरमा निक्षेप राखे स्थायी निक्षेप सुविधा पाउँदैनन्, जसले केन्द्रीय बैंकमा थप तरलता राखेर आम्दानी गर्ने अवसर गुमाउँछ।
केन्द्रीय बैंकका अनुसार २०८२ असोजमा वाणिज्य बैंकको औसत आधार दर ५.५६ प्रतिशत, विकास बैंक ७.९२ प्रतिशत र वित्त कम्पनी ८.४८ प्रतिशत रहेको छ। निक्षेपको भारित औसत ब्याजदर वाणिज्य बैंकमा ३.८५%, विकास बैंकमा ४.४५% र वित्त कम्पनीमा ५.६२% रहेको छ।
त्यसैगरी कर्जा ब्याजदरको भारित औसत वाणिज्य बैंकमा ७.५०%, विकास बैंकमा ८.७७% र वित्त कम्पनीमा १०.१८% रहेको छ। ९१-दिने ट्रेजरी बिलको औसत ब्याजदर २०८१ असोजमा २.९६% बाट घटेर २०८२ असोजमा १.९१% पुगेको छ। अन्तर बैंक कारोबारको औसत ब्याजदर पनि ३.००% बाट घटेर २.५८% रहेको छ।
