एनपीएल २०२५ आजदेखि सुरु, जनकपुर र काठमान्डुबीच उद्घाटन खेल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु हुँदैछ। २७ गतेसम्म चल्ने लिगमा ८ फ्रेन्चाइज टोलीको सहभागिता छ।
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र पुनर्संरचित काठमान्डु गोर्खाज अपरान्ह ४ बजे भिड्दैछन्। पहिलो खेलका सबै टिकट बिक्री भइसकेका छन्।
यसपटक रंगशालामा १० हजार दर्शक क्षमता, ६ वटा फ्लडलाइट तथा नयाँ प्यारापिट निर्माण भएपछि प्रतियोगिता अझ आकर्षक हुने अपेक्षा गरिएको छ। नेपाली क्रिकेट इतिहासमै पहिलोपटक एनपीएलका २३ खेल फ्लडलाइटमा हुनेछ।
गत संस्करणको उपाधि जनकपुरले जितेको थियो। काठमान्डुले भने यसपटक जर्सीदेखि लोगो, प्रशिक्षकदेखि विदेशी खेलाडीसम्म धेरै परिवर्तन गरेको छ।
रातिको खेलका लागि फ्लडलाइट परीक्षण सकिएसँगै रंगशाला शहरी विकास मन्त्रालयले औपचारिकरूपमा क्यानलाई हस्तान्तरण गरिसकेको छ। नेपाली खेलाडीहरू पहिलोपटक फ्रेन्चाइज प्रतियोगिता रातिमा खेलिने भएकाले उत्साहित देखिएका छन्।
