एनपीएल : पहिलोपटक फ्लडलाइटमुनि नेपाली क्रिकेट, ८ टोलीका स्टार खेलाडी भिड्दै
काठमाडौं । नेपाली क्रिकेट आजदेखि नयाँ उचाइमा पुगेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलोपटक फ्लडलाइटमुनि सुरु हुँदैछ, जसले घरेलु क्रिकेटमा डे–नाइटको नयाँ युग खोलेको छ।
प्यारापिटसहितको आधुनिक भ्युविङ सुविधा र अन्तर्राष्ट्रिय स्तरको वातावरणका बीच उद्घाटन खेलमा साविक च्याम्पियन जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिड्दैछन्।
यो सिजन ८ फ्रेन्चाइज टोलीले ३२ खेल खेल्नेछन्, जसमा २३ खेल राति हुनेछन्। एनपीएलको यस संस्करणलाई स्टार विदेशी खेलाडीहरूको आकर्षण, बलियो फ्रेन्चाइज संरचना र पहिलोपटक फ्लडलाइट प्रयोगका कारण इतिहासकै सबैभन्दा भव्य प्रतियोगिताका रूपमा हेरिएको छ।
जनकपुर बोल्ट्स यसपटक पनि उपाधि रक्षा लक्ष्यसहित मैदान उत्रिँदैछ। कप्तान अविरल चामीको नेतृत्वमा इमरान ताहिर, वायन पार्नेल र लफ्टी इटनजस्ता अन्तर्राष्ट्रिय अनुभव बोकेका खेलाडी छन्। उनीहरूलाई अविशेक भेज र अविनाश बोहराजस्ता नेपाली खेलाडीले थप बल दिएका छन्।
सुदूरपश्चिम रोयल्स यस सिजन सबैभन्दा सन्तुलित मानिएको टोलीमध्ये पर्छ। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा क्रिस लिन, जोस ब्राउन र स्कट कुग्लेइनजस्ता विश्व क्रिकेटमा स्थापित नाम छन्। आरिफ शेख र इशान पाण्डेजस्ता नेपाली युवा पनि टिमको मेरुदण्ड बनेका छन्।
कर्णाली याक्सले सोमपाल कामीको नेतृत्वमा अनुशासित खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। विदेशी समूहमा मार्क वाट, विलियम बोसिस्टो र नजिबुल्लाह जाद्रान छन् भने पवन सर्राफ र युवराज खत्रीजस्ता नेपाली प्रतिभाले टिमलाई सन्तुलित बनाएका छन्।
चितवन राइनोजले कुशल मल्लको कप्तानीमा निकै बलियो स्क्वाड तयार पारेको छ। डाविड मलान र रवि बोपारा जस्ता वरिष्ठ अन्तर्राष्ट्रिय खेलाडीले टिमलाई थप स्थिरता दिएका छन्। सैफ अली जैबसहितको टिमले यस सिजन आक्रामक प्रदर्शन गर्ने संकेत देखाएको छ।
काठमाण्डु गोर्खाज पनि बराबरीको दाबेदार मानिएको छ। करण केसीको नेतृत्व, मोन्टी देसाईको अनुभवी प्रशिक्षकता र विदेशी तर्फ रिकार्डो भास्कोनेसेलोस, जॉन सिम्पसन तथा एरासमसको उपस्थिति टिमलाई अत्यन्त प्रतिस्पर्धी बनाउँछ। भिम श्रेष्ठ र रित गौतम जस्ता नेपाली खेलाडीले टिमलाई थप मजबुत बनाएका छन्।
सबैभन्दा बढी चर्चा पाएको टिम भने विराटनगर किङ्स हो। सन्दीप लामिछाने मार्की चुनेको टिममा फाफ डु प्लेसी र मार्टिन गप्टिल जस्ता संसारभर चर्चित नाम छन्। साम हिजलेट र जर्ज मुन्सेजस्ता विदेशी खेलाडीका साथ प्रदीप ऐरीजस्ता नेपाली प्रतिभाले टिमलाई स्टार–स्टडेड बनाएका छन्।
पोखरा एभेन्जर्स यसपटक पूर्णतः नयाँ पहिचान लिएर आएको छ। कुशल भुर्तेलको मार्की नेतृत्वमा जिम्मी निशम, जेसन रोय र एडम रोसिङटन जस्ता विस्फोटक विदेशी खेलाडी छन्, जसले खेललाई मनोरञ्जनपूर्ण बनाउने अपेक्षा छ।
लुम्बिनी लायन्सले रोहित पौडेलको कप्तानीमा सिजनमा पुनरागमन गर्ने लक्ष्य राखेको छ। डार्शी सर्ट र गुल्बादिन नाइबजस्ता बहुमुखी विदेशी र रुबेन ट्रम्पलमन तथा जेजे स्मिथजस्ता नामिबियन स्टारहरूले टिमलाई नयाँ ऊर्जा दिएका छन्।
फ्लडलाइटको चमक, प्यारापिटको सहजता, स्टार विदेशीहरूको उपस्थिति र बलियो फ्रेन्चाइज संरचनासहित सुरु भएको एनपीएल २०२५ ले नेपाली क्रिकेटलाई अर्को स्तरमा पुर्याउने सबै संकेत देखिएका छन्। आजदेखि सुरु भएको यो प्रतियोगिताले घरेलु क्रिकेटमा दर्शकहरूले कहिल्यै नदेखेको नयाँ अनुभूति दिलाउनेछ।
