आश्माको कभर डान्स भिडियोलाई पाँच दिनमै साढे ७ करोड भ्यूज
काठमाडौं । एक दक्षिण भारतीय फिल्मको गीतमा ‘कभर डान्स भिडियो’ बनाएकी नेपाली डान्सर आश्मा विश्वकर्माले यतिबेला चौतर्फी चर्चा बटुलेकी छिन् । सामाजिक सञ्जालमा उनको भिडियोलाई उत्साहजनक भ्यूज मिलेको छ ।
रिलिजको पाँचौ दिन सोमबारसम्म फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबमा गरेर कूल ७ करोड ५५ लाख भ्यूज प्राप्त भएको छ । आश्माको करिअरमा पनि यो सर्वाधिक भ्यूज पाउने भिडियो हो ।
‘कार्टुन्ज क्रू’ नामक एक नृत्य समूहसँग आबद्ध आश्माले रामचरण स्टारर फिल्म ‘पेड्डी’ को गीत ‘चिक्री चिक्री’मा आधारित रहेर एक डान्सिङ भिडियो बनाएकी थिइन् ।
फेसबुकमा सोमबार दिउँसोसम्म २ करोड, इन्स्टाग्राममा २ करोड २४ लाख, टिकटकमा २ करोड २८ लाख र युट्युब सर्ट्समा १ करोड ३ लाख भ्यूज पुगेको छ । भ्यूजको यो गति उकालो लाग्ने क्रममा देखिन्छ ।
उनको भिडियोलाई ‘पेड्डी’ फेम्ड अभिनेत्री जान्ह्वी कपुरले पनि सेयर गरेकी थिइन् । बलिउड र नेपाली सेलिब्रेटीले पनि उनको भिडियोलाई प्रशंसा गरिरहेको देखिन्छ ।
