आइतबार २१ मंसिर, २०८२

दुबई एयर शो २०२५ : इमिरेट्सले बोइङसँग ३८ अर्ब डलरमा ६५ नयाँ जहाज खरिद

दुबई एयर शो २०२५ : इमिरेट्सले बोइङसँग ३८ अर्ब डलरमा ६५ नयाँ जहाज खरिद

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा सुरु भएको दुबई एयर शो २०२५ को पहिलो दिन इमिरेट्स एयरलाइनले एकैपटक ६५ थान बोइङ ७७७–९ जहाज खरिद गर्ने अर्डर गरेको छ। यो अर्डरको मूल्य करिब ३८ अर्ब अमेरिकी डलर छ।

यूएईको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इमिरेट्स बोइङका वाइडबडी जहाजको सबैभन्दा ठूलो ग्राहक हो। यस नयाँ अर्डरसँगै इमिरेट्सले बोइङसँग गरेको वाइडबडी जहाज अर्डरको कुल संख्या ३१५ पुगेको छ।

इमिरेट्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ – 'यस अर्डरले अमेरिकी जहाज उद्योगसँगको दीर्घकालीन प्रतिबद्धता पुष्टि गर्नेछ र जहाज उत्पादनका लागि अमेरिकामा थप हजारौं रोजगारी सिर्जना हुनेछ। अमेरिकी ट्रम्प प्रशासनले पनि यस कदमलाई स्वागत गर्ने अपेक्षा गरिएको छ ।'

नयाँ जहाजमा जनरल इलेक्ट्रिक्स (जीई) एरोस्पेसको उत्पादन GE 9X इन्जिन जडित हुनेछ र इमिरेट्सले ५४० थान GE 9X इन्जिन पनि अर्डर गरेको छ। इमिरेट्सका सीईओ शेख अहमद बिन साइद अल मक्टौमले यो अर्डरले बोइङ, जीई र अमेरिकी एरोस्पेससँगको दीर्घकालीन साझेदारी पुष्टि गरेको बताए।

नयाँ जहाज सन् २०२७ देखि आपूर्ति हुने जनाइएको छ। यसअघि इमिरेट्सले गरेको बोइङ ७७७एक्स अर्डर स्थगन भएको थियो।

हाल इमिरेट्सले हरेक साता ३ हजार उडान संचालन गर्दै आएको छ। यसले दुबई हबबाट ७७ देशका १४८ गन्तव्यमा नियमित यात्रुवाहक र कार्गो सेवा प्रदान गर्दै आएको छ। इमिरेट्ससँग २५२ यात्रुवाहक र १२ कार्गो जहाज गरी कुल २६४ जहाज सञ्चालनमा छन्।

४० वर्षअघि सन् १९८५ मा स्थापना भएको इमिरेट्स एयरलाइनले आर्थिक वर्ष २०२४/२५ मा कुल ३४.८३ अर्ब डलर आम्दानी र ५.१९ अर्ब डलर खुद आम्दानी गरेको थियो। कम्पनीमा हाल ६९,४६५ कर्मचारी कार्यरत छन्।