लघुवित्तको वित्तीय आधार मजबुत : पूँजीकोष ९.६ प्रतिशत वृद्धि, निक्षेप–लगानीमा विस्तार
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको समग्र वित्तीय आधार गत आर्थिक वर्षमा उल्लेखनीय रूपमा विस्तार भएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार लघुवित्तहरूको पूँजीकोष ९.६ प्रतिशतले बढेर ६९ अर्ब ३ करोड ९७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसको आकार ६३ अर्ब १ करोड ५४ लाख रुपैयाँ थियो।
निक्षेप संकलनमा पनि मजबुत वृद्धि देखिएको छ। गत आवमा सदस्यहरूबाट संकलित निक्षेप १३.१ प्रतिशतले वृद्धि भई १ खर्ब ९९ अर्ब ७५ करोड ६१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो रकम १ खर्ब ७६ अर्ब ६६ करोड रुपैयाँ थियो।
लघुवित्त संस्थाहरूले विभिन्न स्रोतबाट लिएको सापटी ३.८ प्रतिशतले बढेर २ खर्ब ३९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २ खर्ब ३० अर्ब ७४ करोड रुपैयाँ थियो। प्रतिवेदनअनुसार तरल कोष २३.१ प्रतिशतले, लगानी ३ प्रतिशतले, कर्जा तथा सापटी ७.४ प्रतिशतले, र अन्य परिसम्पत्तिहरू ४.७ प्रतिशतले वृद्धि भएका छन्।
पूँजीकोषदेखि निक्षेप, सापटी र लगानीसम्मका सूचकांक सकारात्मक दिशामा विस्तार हुनु लघुवित्त क्षेत्रको पूँजी सुदृढीकरण, जोखिम व्यवस्थापन क्षमता तथा वित्तीय स्थायित्व क्रमशः मजबुत बन्दै गएको संकेत मानिएको छ।
