आइतबार २१ मंसिर, २०८२

कर्मचारीलाई सबैभन्दा धेरै कमाइ हुने अड्डा सञ्चय कोष र उड्डयन प्राधिकरण

कर्मचारीलाई सबैभन्दा धेरै कमाइ हुने अड्डा सञ्चय कोष र उड्डयन प्राधिकरण

काठमाडौं । नेपालमा कर्मचारीलाई सबैभन्दा धेरै वार्षिक औसत आम्दानी हुने निकायमा कर्मचारी सञ्चय कोष र नेपाल नागरिक उड्डयन प्राधिकरण अगाडि देखिएका छन् ।

राज्यकोषबाट लगानी भएका नियामक निकाय, प्रतिष्ठान बोर्ड, समिति तथा सार्वजनिक संस्थान लगायत निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्ने सम्बन्धी सुझाव कार्यदलको प्रतिवेदनमा सो खुलासा गरिएको छ ।

वर्षभरीमा सबै तलब भत्ता, सुविधा समावेश गर्दा एक कर्मचारीले औसत रुपमा प्राप्त गर्ने रकम वा निजका लागि हुने खर्च अध्ययन गर्दा सबैभन्दा अगाडि कर्मचारी सञ्चय कोष आएको छ ।

यस संस्थामा काम गर्ने कर्मचारीले वर्षमा औसत २२ लाख २२ हजार पाउने गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमा काम गर्ने कर्मचारीले वार्षिक औसत २० लाख ६२ हजार रुपैयाँ कमाउने गरेका छन् ।

तेस्रो स्थानमा नेपाल राष्ट्र बैंक रहेको छ । जसमा काम गर्ने कर्मचारीले वार्षिक औसत १८ लाख ३८ हजार रुपैयाँ कमाउँछन् । नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानमा काम गर्ने कर्मचारीको वार्षिक आम्दानी १७ लाख २ हजार रुपैयाँ देखिएको छ ।

प्रतिवेदन अनुसार प्रतिकर्मचारी वार्षिक औसत १५ लाख भन्दा बढी कमाइ हुने निकाय/संस्थान १२ वटा रहेका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीमा १६ लाख ४५ हजार, राष्ट्रिय बीमा कम्पनीमा १६ लाख ४३ हजार रुपैयाँ आम्दानी हुने देखिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा १५ लाख ७८ हजार, धितोपत्र बोर्डमा १५ लाख ७६ हजार रुपैयाँ वार्षिक आम्दानी हुने देखिन्छ । एचआईडीसीएलमा १५ लाख ७२ हजार र नागरिक लगानी कोषमा १५ लाख ४० हजार वार्षिक आम्दानी रहेको छ ।

प्रतिवेदन अनुसार कतिपय संस्था/निकायले विभिन्न किसिमका कोष, बीमा, घर तथा सवारी साधन खरिदमा दिएको ब्याज अनुदान तथा सेवा निवृत्त हुँदा दिने सुविधा भने जोडिएको छैन ।

कतिपय निकायले यस वर्ष खर्च निकालेको देखिएको छैन । यस्तो रकम समेत जोड्दा कर्मचारीमा भएको खर्च थपघट हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । कतिपय निकायले पटके निर्णयबाट सुविधा दिने गरेको र त्यस्तो सुविधा सार्वजनिक नगर्ने परिपाटी समेत विद्यमान रहेको देखिएको छ ।

कार्यदलले कुल ४६ संस्था/निकायमा गरेको अध्ययन अनुसार ३८ निकाय मात्र नाफामा देखिएका छन् ।