सुधारिंदै लघुवित्त क्षेत्र : खुद नाफा १४३ प्रतिशतले बढ्यो, ईपीएसमा पनि सकारात्मक
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको कर्जा पुनर्संरचनाको सहुलियतपछि लघुवित्त क्षेत्र पुनः स्थिरतर्फ फर्किएको छ।
आर्थिक मन्दी, बजार सुस्ती र आन्दोलनहरूको दबाबबीच पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्त संस्थाहरूले २ अर्ब ६ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा २५२ प्रतिशतले वृद्धि हो।
कर्जा पुनर्संरचनाले किस्ता भुक्तानी सहज हुँदा खराब कर्जा घटेको र उठ्न बाँकी ब्याज समेत आम्दानीमा देखाउन पाएका कारण नाफामा तीव्र सुधार आएको देखिन्छ। ४४ वटा लघुवित्त नाफामा रहँदा ४ कम्पनी मात्र ऋणात्मक अवस्थामा छन्।
असोज मसान्तसम्म छिमेक लघुवित्त २६ करोड ९० लाख नाफासहित सबैभन्दा अगाडि रह्यो। दोस्रो स्थानमा साना किसान विकास लघुवित्त २२ करोड ८४ लाखसहित रहे पनि यसको नाफा गत वर्षभन्दा २९ प्रतिशतले घटेको छ।
डिप्रोक्स, जीवन विकास, नेशनल लघुवित्तलगायतका संस्थाको नाफा उल्लेख्य रूपमा बढेको छ। नाफा वृद्धि दरमा एनआईसी एशिया लघुवित्त शीर्ष स्थानमा रह्यो—नाफा १३ हजार प्रतिशतभन्दा बढीले बढेर ९० लाख ९० हजार पुगेको छ।
गणपति, सपोर्ट, नेष्डो लघुवित्तको पनि तेज वृद्धि देखिएको छ। यता मातृभूमि, सिर्जनशिल, सिवाईसी र मेरो माइक्रोफाइनान्स भने ऋणात्मक अवस्थामा छन्।
खराब कर्जामा पनि सुधार आएको छ। १६ लघुवित्तको खराब कर्जा ५ प्रतिशतभन्दा कम छ। सपोर्ट माइक्रोफाइनान्स १.६३ प्रतिशतसहित सबैभन्दा कम खराब कर्जा भएको संस्था बन्यो।
उच्च खराब कर्जामा भने नेष्डो माइक्रोफाइनान्स २०.९४ प्रतिशतसहित शीर्षमा छ, त्यसपछि एनआईसी एशिया लघुवित्त १७.०६ प्रतिशत, नाडेप, नेरुडे–मिर्मिरे, मेरो माइक्रोफाइनान्स, विजय, आत्मनिर्भर, युनिक र स्वावलम्बन लघुवित्तको खराब कर्जा दोहोरो अंकमा छ।
लघुवित्त क्षेत्र पुनर्संरचनाको प्रभावले क्रमशः सुधारतर्फ उन्मुख हुँदै गएको विश्लेषण देखिन्छ।
