सोमबार २२ मंसिर, २०८२

४ महिनामा ३६ अर्ब ६८ करोडको वैदेशिक लगानी प्रतिबद्धता, कृषि र पर्यटन क्षेत्रमा धेरै

४ महिनामा ३६ अर्ब ६८ करोडको वैदेशिक लगानी प्रतिबद्धता, कृषि र पर्यटन क्षेत्रमा धेरै

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता दोब्बरले बढेको छ ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो चार महिना (साउनदेखि कात्तिकसम्म)को अवधिमा ३६ अर्ब ६८ करोड १६ लाख ८६ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता (एफडीआई) स्वीकृत भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस अवधिमा १८ अर्ब ६६ करोड रुपैयाँ बराबरको मात्र एफडीआई स्वीकृत भएको थियो ।

चालु आर्थिक वर्षको साउन महिनामा मात्रै २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ रकम बढीको लगानी प्रतिबद्धता विभागबाट स्वीकृत भएको छ । भदौ महिनामा ८ अर्ब ९४ करोड ७० लाख बराबरको लगानी प्रतिवद्धता आएको छ । यस्तै असोजमा २ अर्ब ४५ करोड ७३ लाख रुपैयाँ र कात्तिकमा १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता भएको छ । 

विभागका अनुसार अटोमेटिक र अप्रुभल दुवै रुटबाट यो अवधिमा कुल ३८२ वटा परियोजनाका लागि स्वीकृति दिइएको छ । जसमध्ये २५१ अटोमेटिक रुट र १३१ उद्योग अप्रुभल रुटबाट स्वीकृत भएको तथ्यांक छ । अटोमेटिक रुटबाट २ अर्ब ३६ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । यससँगै नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी ६ खर्ब ८६ अर्ब ५ करोड रुपैयाँ बराबर स्वीकृत भएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ । 

चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ७ हजार ६२१ कम्पनी दर्ता भएका छन् । यस आर्थिक वर्षको कात्तिकसम्म दर्ता भएका उद्योगले ३३ हजार ८१४ जनालाई रोजगारी सिर्जना गर्ने अनुमान विभागले गरेको छ । नेपालमा पछिल्लो समय वैदेशिक लगानी निरन्तर रुपमा घट्दो क्रममा छ । तर चालु आर्थिक वर्षका दुई साउन र भदौमा महिनामा लगानी प्रतिबद्धता उत्साहजनक थियो । असोज र कात्तिक महिनामा भने घटेको देखिन्छ । समग्रमा भने वैदेशिक लगानीको प्रतिबद्धता सन्तोषजनक देखिएको छ । तर सबै क्षेत्रमा एकरुपताका साथ लगानी प्रतिवद्धता आउन सकेको छैन । 

उद्योग विभागको तथ्याङ्क हेर्दा लगानीको ठुलो हिस्सा केही सीमित क्षेत्रमा मात्र केन्द्रित देखिन्छ । पहिलो चौमासिक (श्रावणदेखि कात्तिक मसान्तसम्म) मा कृषि र पर्यटन क्षेत्रले प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामा ठुलो हिस्सा ओगटेका छन् ।

अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख डा. धनीराम शर्माले नेपालको वैदेशिक सहायता र लगानी नीति क्रमिक रुपमा कम हुँदै गएको बताए । उनले वैदेशिक लगानी वृद्धिका लागि लगानी बोर्ड र उद्योग विभाग मार्फत काम भइरहेको बताए । 

‘पछिल्लो समय नेपालमा वैदेशिक सहायता घट्दै गएको र निजी क्षेत्रको लगानी बढाउनुपर्ने आवश्यकता महसुस गरी अर्थ मन्त्रालयले संस्थागत सुधार गरिरहेको छ,’ उनले भने, ‘लगानीसम्बन्धी विषयहरू उद्योग मन्त्रालय, लगानी बोर्ड, नेपाल राष्ट्र बैंक मार्फत काम भइरहेको छ ।’

उनले वैदेशिक लगानीलाई सहजीकरण गर्न अर्थ मन्त्रालयले वैदेशिक सहायता महाशाखाको नाम नै परिवर्तन गरेको जानकारी दिए । सरकारले ‘अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा’ बनाएर वैदेशिक लगानी समन्वय गर्ने एक फोकल युनिट स्थापना गरेको छ ।  

कृषि, वन र पर्यटनमा ८४ प्रतिशत लगानी

विभागको मासिक प्रतिवेदन अनुसार यस चौमासिकमा सबैभन्दा बढी लगानी कृषि तथा वनमा आधारित उद्योग र पर्यटन क्षेत्रमा केन्द्रित भएको छ । कृषि तथा वनमा आधारित उद्योगमा कुल प्रतिबद्धताको ६० प्रतिशत हिस्सा ओगटेको छ । वनमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १३ वटा परियोजनाका लागि २१ अर्ब ८८ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

पर्यटन क्षेत्र प्रतिबद्धताको हिसाबले दोस्रो स्थानमा छ । यस क्षेत्रमा ११८ वटा परियोजनाका लागि ८ अर्ब ९४ करोड २० लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको छ, जुन कुल प्रतिबद्धताको २४ प्रतिशत हो । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा आएको कुल वैदेशिक लगानी प्रतिबद्धताको ८४ प्रतिशत हिस्सा यी कृषि र पर्यटन क्षेत्रले मात्र ओगटेका छन् ।

सेवा र उत्पादन क्षेत्रको अवस्था

कृषि, वन र पर्यटन बाहेक अन्य प्रमुख उद्योगहरूमा वैदेशिक लगानी प्रतिबद्धताको हिस्सा तुलनात्मक रूपमा कम देखिएको छ । सेवा क्षेत्रमा २३ वटा परियोजनाका लागि ३ अर्ब ९ करोड ६० लाख रुपैयाँ (८ प्रतिशत) को प्रतिबद्धता आएको छ । उत्पादनमूलकमा २१ वटा परियोजनामा १ अर्ब ६५ करोड २० लाख रुपैयाँ (५ प्रतिशत) को प्रतिबद्धता प्राप्त भएको छ । सूचना प्रविधिमा संख्यात्मक रूपमा सबैभन्दा धेरै परियोजना आईसीटी क्षेत्रमा छन् । कुल ३८२ मध्ये २०५ परियोजना यसै क्षेत्रका भएपनि वित्तीय प्रतिबद्धताको हिसाबले यो क्षेत्र पछि परेको छ ।

आईसीटीमा जम्मा ८७ करोड ४३ लाख ८६ हजार रुपैयाँ (२ प्रतिशत) को मात्र प्रतिबद्धता आएको छ । यो अवधिमा ऊर्जा क्षेत्रमा एउटा मात्र परियोजनाका लागि १८ करोड ४२ लाख ५० हजार रुपैयाँ (१ प्रतिशत) को प्रतिबद्धता आएको छ ।

खनिजतर्फ एउटा परियोजनाका लागि ४ करोड ५० लाख रुपैयाँको प्रतिबद्धता आएको छ । पूर्वाधार क्षेत्रमा भने कुनै पनि लगानी प्रतिबद्धता आएको छैन ।

साना धेरै, प्रतिबद्धता ठुलामा

कात्तिकसम्म आएको लगानी प्रतिबद्धता र स्वीकृत उद्योगको संख्या हेर्दा साना उद्योगमा बढी लगानी केन्द्रित भएको छ । परियोजनाको संख्या हेर्दा साना लगानीका परियोजनाहरूको संख्या अत्यधिक रहेको देखिन्छ, तर धेरै रकम भने ठुला परियोजनामा सीमित छ ।

कात्तिकसम्म स्वीकृत ३८२ परियोजनामध्ये ३६९ वटा साना स्केलका आयोजना छन् । मध्यम स्केलका परियोजनाको संख्या ६ र ठुलो स्केलका परियोजनाको संख्या ७ मात्र छ । कात्तिकमा मात्र ६९ साना उद्योग, दुई मझौला उद्योग दर्ता भएको तथ्यांक छ । यस महिनामा ठुला उद्योग दर्ता भएनन् । यसले थोरै संख्याका मध्यम तथा ठुला परियोजनाले समग्र लगानी प्रतिबद्धताको भार थेगेको देखाउँछ ।

रोजगारी र भिसा सिफारिस

चार महिनाको अवधिमा कुल ३३ हजार ८१४ जनालाई रोजगारी दिने प्रतिबद्धता प्राप्त भएको छ । यस अवधिमा उद्योग विभागबाट कुल ७७१ जना लगानीकर्ता, १२२ जना प्रतिनिधि र २२५ जना आश्रित परिवारका लागि व्यापारिक भिसा सिफारिस गरिएको छ ।

नेपालमा हालसम्म ७ हजार ६२१ वटा परियोजनामा ६ खर्ब ८६ अर्ब ५ करोड ८० लाख ७१ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भित्रिसकेको छ ।