आइतबार २१ मंसिर, २०८२

राष्ट्र बैंकको हस्तक्षेप निष्प्रभावी : सहकारी बैंकको सञ्चित नोक्सानी ४ अर्ब नाघ्यो

राष्ट्र बैंकको हस्तक्षेप निष्प्रभावी : सहकारी बैंकको सञ्चित नोक्सानी ४ अर्ब नाघ्यो

काठमाडौं । राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षणको दायरामा पुगेपछि सुधार हुने अपेक्षा गरिएको राष्ट्रिय सहकारी बैंकको अवस्था उल्टै झनै जटिल बनेको छ। सुशासन अभाव, राजनीतिक हस्तक्षेप र अव्यवस्थित कर्जा वितरणका कारण बैंकको वित्तीय हैसियत थप कमजोर बएको छ।

सहकारी संस्थाबाट निक्षेप लिई उनीहरुकै लागि कर्जा प्रवाह गर्ने संरचनामा रहेको सहकारी बैंकमा वर्षौंदेखिको कुप्रबन्धले वित्तीय स्वास्थ्य रुग्ण बन्दै गएको राष्ट्र बैंकका एक अधिकारीले बताए। उनका अनुसार बैंक सञ्चालन समिति र व्यवस्थापनको मिलेमतोमा राजनीतिक स्वार्थलाई प्राथमिकता दिँदै कमजोरी लुकाउने प्रवृत्तिले समस्या चर्काएको छ।

नियमनको दायरामा आएसँगै गरिएका निरीक्षणका क्रममा समेत राजनीतिक दबाब परेको अधिकारीले बताए। बिनाधितो व्यक्ति वा समूहलाई कर्जा प्रवाह गर्नु, राजनीतिक शक्ति केन्द्रको निर्देशनअनुसार निर्णय गर्नु र डिफल्ट बढ्नु मुख्य चुनौती भएको उनको भनाइ छ।

राष्ट्र बैंकले सहकारी बैंकलाई बचाउन आवश्यक सुधार नीतिहरू तयार पार्दै आएको र आगामी केही दिनमै विस्तृत निर्देशन जारी हुने अधिकारीले जानकारी दिए। उनका अनुसार सहकारी बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन हस्तक्षेप गर्ने स्थिति नै आएको भए पनि संस्थाले देखिएका समस्या सम्बोधनमा आवश्यक गम्भीरता नदेखाएको छ।

आर्थिक वर्ष २०८१र८२ मा सहकारी बैंकको सञ्चित नोक्सानी ४ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। कर्जा नोक्सानी व्यवस्थापनका लागि केन्द्रीय बैंकले तोकेको मापदण्डअनुसार आवश्यक प्रावधान कायम नगरेको पनि पाइएको छ।

सहकारी बैंकको पूँजी कोष अवस्था अत्यन्त दयनीय छ। राष्ट्र बैंकले पूँजी कोष ८ प्रतिशत तथा प्राथमिक पूँजी कोष ४ प्रतिशत हुनुपर्ने व्यवस्था गरे पनि बैंकको कुल पूँजी कोष ०।८२ प्रतिशत मात्र रहेको छ। अघिल्लो वर्ष यो अनुपात ७।१८ प्रतिशतले नकारात्मक थियो। यस्तो अवस्थामा कर्जा लगानी निषेध जस्तै अवस्थामा पुगिसके पनि बैंकले कर्जा प्रवाह रोकेको छैन।

गत आर्थिक वर्षमा बैंकलाई राष्ट्र बैंकले ५ अर्ब १५ करोड ६२ लाख रुपैयाँ बराबरको कर्जा नोक्सानी प्रावधान बनाउन भनेको थियो। तर संस्थाले ४ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ मात्र छुट्याएको छ। एकल हानी र सामूहिक हानी गरी २ अर्ब ५६ करोड र २ अर्ब ३० करोड बराबरको नोक्सानी छुट्याइएको छ।

गैर बैंकिङ सम्पत्ति पनि बढ्दै गएको छ। गत आवमा १ अर्ब ११ करोड रुपैयाँ रहेको यस्तो सम्पत्ति एक वर्षमै १ अर्ब ५२ करोड पुगेको छ।

गत वर्ष बैंकले ६९ लाख रुपैयाँ नोक्सानी ब्यहोर्नुपरेको छ भने वितरणयोग्य नाफा ४ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ। वित्तीय सूचकहरू निरन्तर कमजोर हुँदै गएपछि सहकारी बैंक गम्भीर जोखिममा रहेको विशेषज्ञहरूको भनाइ छ।