भरतपुर मेट्रो प्लाजा : पटक तेस्रो ठेक्का आह्वान, ८० करोड–१ अर्ब रुपैयाँ लागतमा प्रस्ताव
चितवन – भरतपुर महानगरपालिकाले बहुचर्चित ‘भरतपुर मेट्रो प्लाजा’ निर्माणका लागि तेस्रो पटक ठेक्का आह्वान गरेको छ। करिब तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा निजी क्षेत्रको उत्साह कम देखिँदा महानगरले लागत घटाएर पुनः प्रस्ताव आह्वान गरेको हो।
नयाँ सूचनाअनुसार, यसपटक निजी कम्पनीहरूले ८० करोडदेखि एक अर्ब रुपैयाँसम्मको लागत प्रस्ताव बुझाउन सक्ने व्यवस्था गरिएको छ। यसअघि निर्धारण गरिएको लागतको तुलनामा यो रकम धेरै कम हो।
पहिलो ठेक्का आर्या विल्डर्स इन्जिनियरिङ प्रा. लि.सँग गरिएको थियो, तर दुई वर्षसम्म काम सुरु नभएपछि २०८० मंसिरमा सम्झौता रद्द गरिएको थियो। दोस्रोपटक २०८१ मंसिर १८ गते ठेक्का आह्वान गर्दा पनि अपेक्षित प्रस्ताव नआएपछि प्रक्रिया अघि बढ्न सकेको थिएन।
महानगरका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार, “निजी क्षेत्र ठूलो लगानी गर्न तयार नभएकाले यसपटक लागत घटाएर ठेक्का खुलाइएको हो। अब काम अगाडि बढ्नेमा हामी आशावादी छौँ।”
नयाँ प्रस्तावमा प्रत्येक कम्पनीले २५ लाख रुपैयाँ जमानत राख्नुपर्नेछ। अघिल्लो ठेक्का समयमा काम नगरेको कारण आर्या विल्डर्सको १ करोड २० लाख रुपैयाँ धरौटी महानगरले जफत गरिसकेको छ।
परियोजना भरतपुर–३, नारायणगढ लायन्सचोकस्थित साढे ११ कठ्ठा जग्गामा निर्माण हुनेछ। १२ तले बहुउद्देश्यीय संरचनामा तीन तला बेसमेण्ट पार्किङ, चिल्ड्रेन पार्क, पाँचतारे होटल, कन्फ्रेन्स हल, सिनेमा हल र फुड कोर्टजस्ता आधुनिक सुविधाहरू समावेश हुनेछन्।
महानगरले यस परियोजनाबाट रोजगारी सिर्जना र राजस्व वृद्धि हुने अपेक्षा गरेको छ। पहिलो ठेक्कामा वार्षिक भाडा पहिलो वर्ष ३० लाखदेखि चौथो वर्ष १ करोड ५३ लाख ७५ हजार रुपैयाँ राखिएको थियो, र हरेक दुई वर्षमा राजस्व १० प्रतिशतले बढ्ने व्यवस्था थियो।
पुरानो सब्जीमण्डीको स्थान अहिले पार्किङको रूपमा प्रयोग भइरहेको छ। भरतपुर–३ का वडाध्यक्ष विकास थापाले यस स्थानमा व्यावसायिक भवनभन्दा वडा कार्यालय निर्माण गर्न उपयुक्त हुने सुझाव दिएका छन्।
