आइतबार २१ मंसिर, २०८२

कर्णाली डेभलपमेन्ट बैंक : हटाउँदै अवैध चुक्ता पुँजी, २५ शेयरधनीको शेयर खारेज

कर्णाली डेभलपमेन्ट बैंक : हटाउँदै अवैध चुक्ता पुँजी, २५ शेयरधनीको शेयर खारेज

काठमाडौँ – कर्णाली डेभलपमेन्ट बैंकले अवैध रूपमा देखिएको चुक्ता पुँजी घटाउने प्रक्रिया अघि बढाएको छ।

बैंकले ३५ जना व्यक्तिहरूले हकप्रद शेयर खरिदको क्रममा निक्षेपकर्ताको रकम दुरुपयोग गरेको पुष्टि गरेपछि यस्तो कदम चालेको हो।

बैंकका अनुसार हकप्रद शेयर खरिद गर्दा निक्षेपकर्ताको रकम प्रयोग भएकोले ती शेयरधनीहरूको शेयर लगत खारेज गरी बैंकको चुक्ता पुँजीमा समायोजन गर्ने प्रक्रिया अघि बढाइएको छ। यस प्रक्रियासँगै सेयरधनीहरूको स्वामित्व संरचना व्यापक रूपमा प्रभावित हुनेछ।

विशेष गरी, संस्थापक समूहका शेयरधनीका नाममा रहेको २१ लाख ३६ हजार कित्ता शेयर घटेर २१ हजार ३६० कित्तामा सीमित हुनेछ भने १२ हजार ८८४ कित्ता शेयर भएका अन्य शेयरधनीको सेयर संख्या १२६ कित्तामा मात्र घटाइनेछ।

नेपाल राष्ट्र बैंकले २०८१ मंसिर १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै व्यवस्थापन समूह नियुक्त गरेको थियो। त्यसपछि गरिएको सम्पत्ति तथा दायित्व मूल्याङ्कनले संस्थाको चुक्ता पुँजी क्षय भइसकेको र दायित्व सम्पत्तिले नखाम्ने अवस्था देखाएको थियो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ङ को उपदफा (१) को खण्ड (च) तथा (ज) र दफा ८६ज बमोजिम, ती शेयरधनीहरूको शेयरपुँजी घटाएर १ प्रतिशत मात्र कायम गर्ने निर्णय अनुसार २०८२ कात्तिक १ गते सार्वजनिक सूचना प्रकाशित गरिएको छ।