सोमबार २२ मंसिर, २०८२

६ बुँदे घोषणापत्रसँगै काठमाडौंमा तीन दिने अन्तर्राष्ट्रिय कर सम्मेलन सम्पन्न, २० देशका प्रतिनिधि सहभागी

६ बुँदे घोषणापत्रसँगै काठमाडौंमा तीन दिने अन्तर्राष्ट्रिय कर सम्मेलन सम्पन्न, २० देशका प्रतिनिधि सहभागी

काठमाडौं – काठमाडौंमा तीन दिनदेखि चलिरहेको अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५ बिहीबार सम्पन्न भएको छ। सम्मेलनको अन्त्यमा ६ बुँदे काठमाडौं घोषणापत्र जारी गरिएको छ।

विश्वका २० देशका कर विज्ञ, व्यवसायी र नीति निर्मातासहित करिब ५५० सहभागीहरू सम्मेलनमा उपस्थित थिए। सम्मेलनको आयोजना नेपाल च्याम्बर अफ ट्याक्स कन्सल्टेन्ट्स (एनटीएनसी) र एसिया-ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसन (एओटीसीए) को समन्वयमा गरिएको हो।

मंगलबारदेखि सुरु भएको सम्मेलनमा ३५० अन्तर्राष्ट्रिय प्रतिनिधि र २०० नेपाली कर व्यवसायी, सरकारी अधिकारी तथा नीतिनिर्माता सहभागी थिए। उद्घाटन अर्थसचिव घनश्याम उपाध्याय ले गरेका थिए।

एनटीएनसीका अनुसार सम्मेलनले विकासशील देशको कर प्रणाली, उदाउँदा अर्थतन्त्रमा कर नीति कार्यान्वयन, विश्वव्यापी कर अनुपालनमा कर व्यवसायीको भूमिका, डिजिटल कर प्रशासन, र व्यावसायिक आचारसंहिता जस्ता विषयमा छलफलको अवसर प्रदान गरेको छ।

सम्मेलनकै अंशस्वरुप, आन्तरिक राजस्व विभाग र एनटीएनसीको संयुक्त आयोजनामा ट्रान्सफर प्राइसिङ विषयमा ४ घण्टाको विशेष सेमिनार पनि हुने जनाइएको छ। यसमा ग्लोबल ट्याक्स एडभाइजर्स प्लेटफर्म (जीटीएपी) र सीएफई ट्याक्स एडभाइजर्स युरोप का अध्यक्ष प्रा. पियरजियोर्जियो भालेंटे ले सम्बोधन गर्नेछन्।

सम्मेलनका सहभागीहरूले १२ कन्टिन्यूइङ प्रोफेसनल एडुकेसन (सीपीई) क्रेडिट घण्टा प्राप्त गर्नेछन्।

सन् १९९२ मा स्थापना भएको एसियन-ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसन कर परामर्श व्यवसायमा उच्च नैतिक मापदण्ड, व्यावसायिक उत्कृष्टता र समावेशी तथा दिगो आर्थिक विकासलाई प्रवर्द्धन गर्दै आएको छ।

एनटीएनसी, २०१६ मा अवधारणा स्थापना भई २०१८ मा दर्ता भएको, नेपालको कर नीतिगत अध्ययन, कर व्यवसायीको प्रवर्द्धन, अन्तर्राष्ट्रिय कर अभ्यास विश्लेषण र संस्थागत विकासमा सक्रिय संस्था हो।