आइतबार २१ मंसिर, २०८२

सिद्धार्थ बैंकमा सीईओ तलब वृद्धि : राष्ट्र बैंकको निर्देशन बेवास्ता, आन्तरिक असन्तुलन बढ्यो

सिद्धार्थ बैंकमा सीईओ तलब वृद्धि : राष्ट्र बैंकको निर्देशन बेवास्ता, आन्तरिक असन्तुलन बढ्यो

काठमाडौँ – वित्तीय रूपमा चुनौतीपूर्ण अवस्थामा रहेको सिद्धार्थ बैंकले आन्तरिक कमजोर व्यवस्थापन र शीर्ष तहको निर्णयका कारण बजार र नियामक समक्ष विवादको सामना गर्नुपर्ने स्थिति आएको छ। बैंकको वार्षिक प्रतिवेदन अनुसार, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कंडेलको तलब–भत्ता राष्ट्र बैंकको स्पष्ट निर्देशन विपरीत बढाइएको छ।

राष्ट्र बैंकले २०७९ फागुन ३ गतेको परिपत्रमार्फत कुनै पनि बैंकको सीईओको तलब, भत्ता तथा अन्य सेवा–सुविधा बिना विशेष अनुमति बढाउन नपाइने स्पष्ट निर्देशित गरेको थियो। तर, सिद्धार्थ बैंकले आधारभूत तलब ९६ लाख रुपैयाँबाट ९९ लाख रुपैयाँसम्म वृद्धि गरेको छ, साथै भत्ता, दशैंभत्ता, विदा भत्ता र सवारीभत्तासहित कुल सेवा–सुविधा १ करोड ७० लाख रुपैयाँभन्दा बढाएर १ करोड ७३ लाख रुपैयाँ पुर्याएको देखिन्छ।

बैंकभित्र नीति निर्माण र प्रशासनिक निर्णयहरू एकै व्यक्तिको नियन्त्रणमा सीमित हुनुले आन्तरिक असन्तुलन सिर्जना गरेको छ। विशेष भत्ता र सुविधा वितरणमा गुटगत प्रभाव, कर्मचारी स्थानान्तरणमा दबाब, र स्रोतको अनियन्त्रित खर्चले संस्थागत स्थिरतामा नकारात्मक प्रभाव पारिरहेको विश्लेषकहरूले बताएका छन्।

वित्तीय कमजोरीका बावजुद शीर्ष तहबाट सेवा–सुविधा विस्तार, अनावश्यक खर्च र नियमको अवज्ञाले शेयरधनी तथा लगानीकर्तामा असन्तोष बढाएको छ। विश्लेषकहरूको भनाइ अनुसार, आन्तरिक प्रशासनिक सुधार र पारदर्शिता सुनिश्चित नगरी यस प्रकारको निर्णयले बैंकको दीर्घकालीन वित्तीय स्थिरता र बजार विश्वासमा नकारात्मक असर पार्न सक्छ।

राष्ट्र बैंकको निर्देशनको अवज्ञा, सीईओको मनपरी तलब वृद्धि र गुटगत प्रभावले सिद्धार्थ बैंकको आन्तरिक सन्तुलन कमजोर पारिरहेको छ, जसले लगानीकर्ता र नियामक दुवैको दृष्टिमा जोखिम बढाएको विश्लेषण गरिएको छ।