सोमबार २२ मंसिर, २०८२

बिपी राजमार्गको स्थायी पुनर्निर्माण : साढे ८ अर्बको लगानीसहित दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

बिपी राजमार्गको स्थायी पुनर्निर्माण : साढे ८ अर्बको लगानीसहित दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

काभ्रेपलाञ्चोक ।  बारम्बारको बाढीपहिरोले क्षतिग्रस्त बनेको बिपी राजमार्गको स्थायी पुनर्निर्माण औपचारिक रूपमा सुरु गरिएको छ।

राजधानी काठमाडौंलाई पूर्वी तथा मध्यपहाडी क्षेत्रमा जोड्ने छोटो दूरीको महत्वपूर्ण मार्ग मानिने यो राजमार्गका तीन ठाउँबाट पुनर्निर्माण कार्य अघि बढाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

गत वर्ष असोज दोस्रो साता र यस वर्षको असोज तेस्रो साता आएको विनाशकारी बाढीपहिरोका कारण काभ्रे–सिन्धुली खण्डको करिब ३० किलोमिटर सडक भत्किएको थियो। अस्थायी मर्मतपछि सञ्चालनमा ल्याइएको उक्त खण्ड अहिले स्थायी संरचनाका साथ पुनर्निर्माण थालिएको हो।

कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार चौकीडाँडा, मङ्गलटार, नार्के–गिम्दी क्षेत्र हुँदै क्षतिग्रस्त तीन मुख्य खण्डमा अहिले काम तीव्र रूपमा अघि बढिरहेको छ। यी सबै खण्ड दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरिएकाले समयमै काम सक्ने तयारी रहेको उनले बताए। पुनर्निर्माणसँगै राजमार्गलाई दुई लेनमा स्तरोन्नति गरिने र हाल रहेका पुलसँगै अतिरिक्त पुल निर्माण गरी पुललाई पनि दुई लेनमा बनाइने योजना रहेको जानकारी दिइयो। पाँच पुललाई दुई लेनमा विस्तार गर्न आवश्यक अध्ययन पनि भइरहेको छ।

डालाबेँसीदेखि चारसयबेँसीसम्मको ८.५ किलोमिटर सडक खण्ड १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँमा पुनर्निर्माण गर्न खानी–एवन–कमलजीत जेभीले ठेक्का पाएको छ। त्यसैगरी चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्म ११.०८ किलोमिटर सडक पुनर्निर्माणको जिम्मा १ अर्ब ३३ करोड ५३ लाख सम्झौतासहित लामा–नवकान्तिपुर जेभीलाई दिइएको छ। नेपालथोकदेखि बर्खेखोलासम्मको ४.९० किलोमिटर खण्ड भने ६१ करोड रुपैयाँमा खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीले निर्माण गर्नेछ।

क्षतिग्रस्त २९.५ किलोमिटरमध्ये बर्खेखोला–पिप्ले तीन दशमलव दुई किलोमिटर सडकको पुनर्निर्माण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले गर्नेछ। जाइकाले यसका लागि २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने सम्झौता भइसकेको छ र हाल यो खण्डको ठेक्का प्रक्रिया अघि बढिरहेको छ। अन्य सबै खण्डमा सरकारले गत असोजमै ठेक्का सम्झौता गरिसकेको हो।

कुल पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइसकेको छ, जसअनुसार काभ्रे क्षेत्रमा रहेको तीन खण्डका लागि ७ अर्ब ५० करोड र सिन्धुली खण्डका लागि १ अर्ब विनियोजन गरिएको छ। मंसिरको सुरुआतदेखि नै पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढाइएकाले लक्ष्यअनुसार समयमै काम सम्पन्न हुने अपेक्षा गरिएको छ।

जापान सरकारको आर्थिक सहयोगमा २०५३/०५४ सालदेखि निर्माण सुरु भएको धुलिखेल–सिन्धुली–बर्दिवास १६० किलोमिटर लामो बिपी राजमार्ग २०७२ असार १८ गते नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। यो मार्ग काठमाडौंलाई पूर्वी र मध्यपहाडी भूभागसँग सबैभन्दा छोटो दूरीमा जोड्ने सुरक्षित र महत्वपूर्ण राजमार्गका रूपमा मानिन्छ।