सोमबार २२ मंसिर, २०८२

धरहरा टिकटबाट वार्षिक ७ करोड ८० लाख राजस्व सङ्कलन

धरहरा टिकटबाट वार्षिक ७ करोड ८० लाख राजस्व  सङ्कलन

काठमाडौँ । चालु वर्षमा धरहराबाट जम्मा ७ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ। धरहरा सञ्चालन इकाई कार्यालयका प्रमुख महेश राईका अनुसार ४ लाख १२ हजार नागरिकले धरहरा चढेका थिए।

सरकारले २०८१ मङ्सिर ९ गतेदेखि धरहरा चढ्न सशुल्क टिकट व्यवस्था लागू गरेको थियो। राईका अनुसार धरहरा प्रवेश गर्नेको संख्या सुरुवाती चरणको तुलनामा बढेको छ। पहिले बिहान १०ः३० बजेदेखि साँझ ४ बजेसम्म धरहरा खुल्ने व्यवस्था थियो भने २०८२ साउन १ गतेदेखि बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खुला गरिएको छ।

धरहरा प्रवेश शुल्क ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म तोकिएको छ। धरहरा परिसर प्रवेशका लागि ५० रुपैयाँ, नेपाली नागरिकका लागि धरहरा चढ्ने शुल्क प्रतिव्यक्ति २०० रुपैयाँ तोकिएको छ। विद्यार्थी, बालबालिका, अपाङ्गता भएका व्यक्ति र वृद्धलाई ५० प्रतिशत छुटको सुविधा छ।

विदेशी नागरिकका लागि प्रतिव्यक्ति शुल्क १ हजार रुपैयाँसम्म छ। सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ५०० रुपैयाँ र सार्कबाहेकका राष्ट्रका नागरिकलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ। अनलाइन र भौतिक दुवै माध्यमबाट टिकट काटेर धरहरा प्रवेश गर्न सकिन्छ।