कर्णालीमा आगामी आर्थिक वर्षका लागि योजना छनौट प्रक्रिया सुरु, स्थानीय तहलाई पत्राचार
सुर्खेत । कर्णालीमा आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि आयोजना छनोटको प्रक्रिया सुरु भएको छ । प्रदेश योजना आयोगले आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने योजनाहरूको प्रस्ताव आह्वान गरेको हो ।
त्यसका लागि आयोगले प्रदेशभरका जिल्ला समन्वय समिति र स्थानीय तहहरूलाई पत्राचार गरेको छ । आयोगले शुक्रबार पठाएको पत्रमार्फत संलग्न सूचनालाई आ–आफ्नो वेबसाइट र सूचना पाटीमा प्रकाशन गर्नका साथै सरोकारवाला पक्षसँग आवश्यक समन्वय र प्रचारप्रसार गर्न अनुरोध गरेको छ ।
यसअघि कर्णालीमा आयोजना छनोटको प्रक्रिया ढिलो हुने हुँदा पहुँचका आधारमा आयोजना पर्ने, छनोटमा बेथिति हुने गरेको भन्दै आलोचना हुने गरेको थियो । तर, गत वर्षदेखि मुख्यमन्त्री यामलाल कँडेलले झ्यालबाट योजना हाल्ने विकृत अवस्था अन्त्य गर्न, कर्णालीमा विकास गर्नेभन्दा पनि खाने परम्परालाई अन्त्य गर्न आवश्यक भएको भन्दै कानुनै बनाएर लागू गरे । अहिले उक्त कानुनलाई संशोधन गरिएको छ ।
अघिल्लो कार्यविधिमा जिल्लास्थित कार्यालयले आगामी आर्थिक वर्षमा कार्यान्वयन गर्ने आयोजनाका लागि फागुन २० गतेभित्र सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने भनेको थियो । संशोधित कार्यविधिमा मंसिर मसान्तसम्म आयोजना प्रस्ताव दर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।
यो परिवर्तनले बजेट प्रक्रियासँग आयोजना छनोटलाई अझ अगाडि ल्याउन खोजेको छ । संशोधनले आयोजना छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र जबाफदेही बनाउन पनि खोजेको छ । सोही अनुसार, योजना छनोटको प्रक्रिया सुरु भएको योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले बताए ।
