४ महिनामा व्यापार घाटा ५ खर्ब नाघ्यो, वैदेशिक व्यापार ७ खर्ब
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा मुलुकको कुल वैदेशिक व्यापार २४ दशमलव १८ प्रतिशतले वृद्धि भएको छ।
भन्सार विभागका अनुसार साउनदेखि कार्तिकसम्मको अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा कुल व्यापार ५ खर्ब ६६ अर्ब रुपैयाँ थियो।
निर्यातमा ठूलो सुधार देखिएको छ। सो अवधिमा नेपालबाट हुने वस्तु निर्यात ७७ दशमलव ५१ प्रतिशतले वृद्धि भई ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा निर्यात ५२ अर्ब ६७ करोड रुपैयाँ थियो। निर्यात वृद्धिले अर्थतन्त्रका लागि सकारात्मक संकेत दिएको विभागले जनाएको छ।
तर आयात पनि उच्च दरले बढेको छ। सो अवधिमा मुलुकले ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। गत वर्ष सोही अवधिमा आयात ५ खर्ब १३ अर्ब ३८ करोड रहेको थियो। यसकारण व्यापार घाटा बढेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ९९ प्रतिशतले वृद्धि हो।
चार महिनाको वैदेशिक व्यापारको तथ्यांक अनुसार कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड, कुल आयात ६ खर्ब ९ अर्ब ४५ करोड, कुल निर्यात ९३ अर्ब ४९ करोड, व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड पुगेको छ।
