माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्ज यूएईबीच रेमिट्यान्स सेवा सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंकले यूएईस्थित जोयालुक्कास एक्सचेन्जसँग औपचारिक सम्झौता गरी विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल र विश्वासिलो बनाउने व्यवस्था गरेको छ।
बैंकले यूएईमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने उद्देश्यले यो सहकार्य सुरु गरेको हो।
सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्।
यस सम्झौतापछि यूएईमा रहेका नेपालीहरुले जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट MBL REMIT सेवा प्रयोग गरी नेपाल पठाएको रकम माछापुच्छ्रे बैंकका १६५ वटा शाखा, शाखारहित बैंकिङ्ग सेवा, ११ एक्सटेन्सन काउण्टर र २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सक्ने छन्।
साथै, जोयालुक्कास एक्सचेन्जबाट पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्तै जम्मा हुने व्यवस्था पनि माछापुच्छ्रे बैंकले मिलाएको छ। यस सेवाले यूएईमा रहेका नेपाली कामदारका लागि रेमिट्यान्स प्रक्रिया छिटो, सुरक्षित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
