सोमबार २२ मंसिर, २०८२

शेयर बजारमा झिनो सुधार, कारोबार रकम ५ अर्ब ८२ करोड

शेयर बजारमा झिनो सुधार, कारोबार रकम ५ अर्ब ८२ करोड

काठमाडौं । उतारचढावका बीच मंगलबार नेपाली शेयर बजार हल्का वृद्धि सहित हरियालीमा बन्द भएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक ५.३२ अंकले, अर्थात् ०.२० प्रतिशतले उक्लँदै २६५५.९९ अंकमा पुगेको छ।

बजार समग्र रूपमा बढेपनि विकास बैंक, जीवन बीमा, म्युचुअल फण्ड र ट्रेडिङ समूहमा भने गिरावट देखियो। यी समूह क्रमशः ०.२४, ०.३०, ०.३४ र १.३३ प्रतिशतले घटेका हुन्, जबकि बाँकी सबै समूह हरियालीमा बन्द भए।

आज ३१९ कम्पनीका १ करोड १९ लाख ७६ हजार ७ सय ८० कित्ता शेयर किनबेच हुँदा कूल कारोबार रकम ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँमा सीमित रह्यो, जुन अघिल्लो दुई दिनको तुलनामा कम हो।

बजारमा झापा इनर्जी, साडर डिस्टिलरी, श्रीनगर एग्रिटेक, स्वस्तिक लघुवित्त र बन्दीपुर केबलकारका लगानीकर्ताले सबभन्दा बढी प्रतिफल हासिल गरे। यी कम्पनीहरूको शेयर मूल्य क्रमशः १०, ९.९९, ९.९८, ८.२३ र ७.२३ प्रतिशतले वृद्धि भएको हो। यस विपरीत, जोशी हाइड्रोको शेयर आज सबैभन्दा बढी ४.९६ प्रतिशतले घट्यो।

कारोबारका हिसाबले आज बन्दीपुर केबलकार अग्रस्थानमा रह्यो। कम्पनीको शेयरबाट मात्र २६ करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

सप्ताहको पहिलो दिन आइतबार बजार ३९.९२ अंकले बढ्दा ६ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो भने सोमबार ५०.४४ अंकको उछालसँगै कारोबार रकम ७ अर्ब रुपैयाँ नाघेको थियो। आज बजार वृद्धि सुस्त रहेकासँगै कारोबार मूल्य पनि घटेर ५ अर्ब ८२ करोडमा झरेको छ।