युरो–६ मापदण्ड : पुराना सवारी–पार्ट आयातकर्तालाई प्रक्रिया छिटो पूरा गर्न नाडाको ताकेता
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले पुराना गाडी र पार्टपूर्जा खरिद प्रक्रिया अघि बढाएका आयातकर्तालाई निर्धारित मापदण्डअनुसार भन्सार जाँचपास छिटो पूरा गर्न आग्रह गरेको छ।
नाडाका अनुसार नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो–६) लागू भइसकेकाले सरकारले तोकेको अन्तरिम व्यवस्थाभित्रै पुराना मापदण्डअनुसारका सवारीसाधन र पार्टपूर्जा पैठारी गर्नुपर्नेछ। वन तथा वातावरण मन्त्रालयले २०८२ असार ९ गते राजपत्रमार्फत युरो–६ मापदण्ड कार्यान्वयन गरेको थियो। त्यसपछिल्लो व्यवस्थाअनुसार अर्थ मन्त्रालयले २०८२ असोज १० गते जारी राजपत्रमार्फत केही विशेष प्रावधान थप गरेको छ।
सोही प्रावधानले युरो–६ लागू हुनु पूर्व जारी भइसकेका प्रोफर्मा इन्भ्वाइस, नेपालमै एसेम्बल वा उत्पादन हुने सवारी साधन, तथा त्यसका लागि आवश्यक पार्टपूर्जा प्रयोग गरी उत्पादन गरिएका सवारीहरूको हकमा मंसिर १५ गतेसम्म पुरानो मापदण्डअनुसार पैठारी गर्न छुट दिएको छ।
समयसीमा अन्त्यतर्फ धकेलिँदै गएपछि नाडाले आयातकर्तालाई बाँकी रहेका सवारी तथा पार्टपूर्जा भन्सार कार्य छिटो टुंग्याउन आग्रह गरेको हो। संघका अनुसार यस विषयमा वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक समन्वय तथा पत्राचार पहिले नै गरिसकिएको छ।
