चीनलाई ताइवानको जवाफ : ४० अर्ब डलरको अतिरिक्त रक्षा बजेट पारित गर्दै
ताइपेई । ताइवानले ४० अर्ब डलर बराबरको अतिरिक्त रक्षा बजेट पारित गर्ने तयारी गरेको छ । चीनबाट खतरा बढेको महसुस गरिरहेको ताइवानले ४० अर्ब डलरको अतिरिक्त रक्षा बजेट ल्याउन लागेको हो ।
सो बजेटमा देशका लागि आवश्यक नयाँ अमेरिकी हतियारहरू खरिद गर्ने योजना पनि समावेश छन् । चीनले ताइवानलाई आफ्नो भूमि ठान्छ । गएको पाँच वर्षयता ताइवानमाथि चीनले सैन्य र राजनीतिक दबाब बढाइरहेको छ । यद्यपि, ताइवानले यस दाबीको कडाइका साथ अस्वीकार गर्दै आएको छ ।
ताइवानका राष्ट्रपति लाइ चिङ–तेले रक्षा बजेट पारित गर्ने तयारी गरिरहेको भनाइलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार प्रसारण गरेका छन् । पछिल्लो समय अमेरिकाले ताइवानलाई रक्षा क्षेत्रमा बढी बजेट छुट्याउन दबाब दिँदै आएको छ ।
राष्ट्रपति लाइले १२ खर्ब ५० अर्ब ताइवानी डलर (३९ अर्ब ८९ अमेरिकी डलर) बराबरको रक्षा प्याकेज ल्याएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय सुरक्षामा सम्झौताको कुनै ठाउँ नभएको बताए । ‘राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र लोकतन्त्रको मूल मूल्य नै हाम्रो राष्ट्रको जग हो’ उनले भनेका छन् ।
सो घोषणाअघि मङ्गलवार वासिङ्टन पोस्टमा राष्ट्रपति लाईको वैचारिक लेख प्रकाशित भएको थियो । सो लेखमा उनले नयाँ रक्षा खर्च योजना ल्याएर ताइवानले आफ्नो रक्षा गर्ने दृढ सङ्कल्प देखाएको स्पष्ट पारेका छन् ।
औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि अमेरिकाले ताइवानलाई आत्मरक्षा उपकरणहरू प्रदान गर्दै आएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेयता उनको प्रशासनले नयाँ हतियार बिक्रीको फाइल मात्र अनुमोदन गरेको छ ।
ताइवानका राष्ट्रपति लाईले अगस्ट महिनामा सन् २०३० सम्ममा रक्षा खर्च जीडीपीको ५ प्रतिशत पुग्ने बताएका थिए ।
