विन नेपाल लघुवित्त १२औँ वर्षमा
काठमाडौं । विन नेपाल लघुवित्त १२औँ वर्षमा प्रवेश गरेको छ । २०७१ मंसिर ८ गते औपचारिकरूपमा कारोबार सुरु गरेको संस्थाले वार्षिकोत्सवका अवसरमा पोर्टेज तथा पुनस्र्थापना संस्था नेपालद्वारा सञ्चालित पोर्टेज समाहित तथा विशेष विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीहरू वितरण गरेको छ ।
संस्थाका अध्यक्ष डा. मदनगोपाल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र खतिवडालगायत संस्थाका प्रतिनिधिहरूले विशेष विद्यालयमा पुगेर उक्त सामग्रीहरू वितरण गरेका थिए ।
ग्रामीण क्षेत्रमा रहेका न्यून आय भएका तथा अल्पसंख्यक नागरिकमा उच्चस्तरको सेवा प्रदान गर्दै आएको संस्थाले बागमती प्रदेशका आठ जिल्लामा २१ शाखा सञ्चालन गर्दै आएको छ । काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको संस्थाको आठ करोड ४३ लाख ४० हजार पाँच सय ५० सेयर पुँजी रहेकोे पछिल्लो त्रैमासिक प्रतिवेदनमा उल्लेख छ ।
