आइतबार २१ मंसिर, २०८२

युरोपियन युनियनकाे २३.५८ मिलियन युरो अनुदान स्वीकार

युरोपियन युनियनकाे २३.५८ मिलियन युरो अनुदान स्वीकार

काठमाडौं । नेपाल सरकाले युरोपियन युनियनबाट २३.५८ मिलियन युरो अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार जानकारी दिनुभयो ।

बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर २० बाट घटाएर पाँच रुपैयाँ कायम गर्ने निर्णय पनि गरेको छ ।

सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्यसचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको पनि खरेलले बताउनुभयो ।

नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरिएको उहाँको भनाइ छ । नेपाल पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार सिंहको राजीनामा स्वीकृत गरिएको पनि खरेलले बताउनुभयो ।

यस्तै, विद्युत् नियमन आयोगलाई साउथ एसिया इन्फ्रास्टक्चर रेगुलेसनको सदस्यता लिन स्वीकृति दिने, नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन, अन्तरनिकायगत समन्वय तथा सहजीकरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति गठन गर्ने, २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार र राहतलाई प्रभावकारी बनाउन गठित समन्वय समिति तथा गृह मन्त्रालयको हेल्प डेस्कमा काम गर्ने बढीमा १० जना सदस्यहरूलाई मासिक १५ हजार रुपैयाँका दरले बढीमा चार महिनाका लागि खाजा तथा यातायात खर्च उपलब्ध गराउने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।