९ लाख फोन आयात, ३ अर्ब राजस्व
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा नेपालमा ९ लाख ४३ हजार ८ सय २० वटा स्मार्टफोन आयात भएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १३.९९ प्रतिशतले वृद्धि हो। गत आवको कात्तिक महिनासम्ममा ८ लाख २७ हजार ९ सय २५ वटा स्मार्टफोन आयात भएका थिए।
भन्सार विभागका तथ्यांक अनुसार, यी स्मार्टफोन आयात गर्न व्यवसायीहरुले १६ अर्ब १५ करोड १८ लाख ४० हजार रुपैयाँ खर्च गरेका छन्। सो अवधिमा नेपाल सरकारले ३ अर्ब १ करोड ३१ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
सर्वाधिक स्मार्टफोन चीनबाट आयात भएको छ। चीनबाट मात्रै कात्तिकसम्ममा ८ लाख २४ हजार ७ सय ४६ वटा फोन नेपाल भित्रिएका छन्। अन्य देशहरू, जस्तै अस्ट्रिया, साईप्रस, इटाली, इराक आदि बाट भने आयात संख्या न्यून (केही देशबाट मात्र एउटा फोन) रहेको छ।
गत आवको सोही अवधिमा नेपालले ८ लाखभन्दा बढी स्मार्टफोन आयात गर्दा व्यवसायीहरूले १३ अर्ब ४० करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च गरेका थिए। सो अवधिमा सरकारले २ अर्ब ४९ करोड ९७ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।
