स्टार्टअप उद्यम कर्जा : १० हजारभन्दा बढी आवेदन
काठमाडौं । यस वर्ष स्टार्टअप कर्जा लिन १० हजार २४४ उद्यमीले प्रस्ताव पेस गरेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कात्तिक १९ देखि २१ दिनका लागि आवेदन खुला गरेको थियो।
प्राप्त प्रस्तावमध्ये २ हजार ४१ उद्यमीले कार्यालयमै गएर र ८ हजार २०३ जनाले अनलाइनमार्फत आवेदन दिएका छन्।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ७३ करोड रुपैयाँ स्टार्टअप कर्जा बजेट प्रस्ताव गरेको छ। नयाँ कार्यविधिअनुसार अब उद्यमीले ५ देखि २० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्।
गत वर्ष कर्जाको सीमा २५ लाख थियो भने यस वर्ष घटाएर २० लाख गरिएको छ। तर न्यूनतम सीमा भने ५ लाख यथावत छ।
स्टार्टअप कर्जाका लागि व्यवसाय १० वर्ष ननाघेको, वार्षिक कारोबार १५ करोडभन्दा कम भएको र नवीन/सर्जनशील परियोजना आवश्यक मानिन्छ। यस वर्ष कर्जा सुरक्षाका लागि उद्यमीले १० प्रतिशत मात्र निक्षेप छुट्याए पुग्नेछ, जुन अघिल्लो वर्ष २५ प्रतिशत थियो।
प्रतिष्ठानका अनुसार हालसम्म पहिलो तथा दोस्रो वर्षका ऋणीबाट २ करोड ९० लाख रुपैयाँ फिर्ता भइसकेको छ। उद्यमीहरूले ३ प्रतिशत ब्याजदरमा किस्ता भुक्तानी गरिरहेका छन्।
