जीवन बीमामा स्थिरता : पोलिसी सरेण्डर ९ प्रतिशत घट्दा बीमित कति लाभान्वित ?
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डरदर ८.७९ प्रतिशतले घटेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार असोजसम्ममा जीवन बीमा कम्पनीहरुबाट कुल ३ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बीमितलाई फिर्ता गरिएको छ।
गत आवको सोही अवधिसम्म सरेण्डर रकम ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ रहेको थियो, जसको आधारमा यस वर्ष ८.७९ प्रतिशतको कमी देखिएको हो।
सरेण्डर रकमसँगै पोलिसी त्याग गर्ने बीमालेख संख्या पनि घटेको छ। गत आवको असोजसम्म २८ हजार ५७ जनाले बीमालेख समर्पण गरेका थिए भने चालु आवको असोजसम्म यो संख्या २२ हजार ९९९ मा सीमित भएको छ, जुन १८ प्रतिशतले घटेको हो।
त्यस्तै, नविकरण नगरिएको व्यतित बीमालेख रकम ४.८९ प्रतिशतले वृद्धि भएको छ। गत आवको पहिलो त्रैमासिकमा ३५ अर्ब ७ करोड २० लाख रहेको व्यतित रकम चालु आवको असोजसम्म ३६ अर्ब ७८ करोड ६७ लाख पुगेको छ। व्यतित बीमालेखको संख्या पनि १.८६ प्रतिशतले वृद्धि भई १२ लाख २० हजार ५४ पुगेको छ।
बीमा कम्पनीहरुमा पोलिसी सरेण्डरदर घट्दा पनि व्यतित बीमालेख संख्या र रकम बढ्दै जानु व्यवसायका लागि चुनौतीपूर्ण रहिरहेको छ। नेपाल बीमा प्राधिकरण, जीवन बीमा कम्पनी र अभिकर्ताहरुको सक्रियताका कारण पोलिसी सरेण्डरदर घट्न सफल भएको हो।
अहिले केही समययता राजनीतिक घटनाक्रम र सहकारीमा हुने आर्थिक जोखिमका कारण नागरिकले प्रिमियम तिर्न नसक्दा पोलिसी सरेण्डर गर्ने प्रवृत्ति बढेको थियो। तर बीमा कम्पनी र अभिकर्ताको सचेत प्रयासले सरेण्डरदरमा कमी ल्याएको प्राधिकरणले जनाएको छ।
