सिटिजन्स बैंकको साधारण सभाबाट लाभांश पारित
काठमाडौं । सिटिजन्स बैंकको १९ औं वार्षिक साधारणसभाले घोषित लाभांश पारित गरेको छ। सञ्चालक समितिका अध्यक्ष प्रवल जंग पाण्डेको अध्यक्षतामा शुक्रबार साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । बैंकले लेखापरीक्षकको प्रतिवेदन सहित एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आव २०८१/८२ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरण सभामा छलफल भई स्वीकृत भएको छ ।
साधारणसभाले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०६५/६६ बाट लगातार लाभांश वितरण गर्दै आएको छ । बैंकको १९ वर्षको औसत लाभांश १०.४० प्रतिशत रहेको छ ।
अध्यक्ष पाण्डेले संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने प्रतिबद्धता जनाए । बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकका देशभर हाल २०० वटा शाखा सञ्चालनमा छन् ।
