अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजेले सरकारी निवासमै गरे गोप्य विवाह, बने पदमा रहेका बेला विवाह गर्ने पहिलो प्रधानमन्त्री
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिजेले आफ्नो सरकारी निवास क्यानबेरा (द लज)मा जोडी हेडनसँग गोप्य र सानो समारोहमार्फत विवाह गरेका छन् । अस्ट्रेलियाको १२४ वर्षको संघीय इतिहासमा पदमा रहेर विवाह गर्ने उनी पहिलो प्रधानमन्त्री बनेका छन् ।
करिब ६० जना पाहुनामाझ नागरिक अधिकृतले विवाह गराएको समारोहबारे मिडियाले घटना सकिएपछि मात्र जानकारी पाएको सीएनएनले जनाएको छ । दम्पतीले आफ्नै प्रतिज्ञा पढेका थिए र उनीहरूको कुकुर टोतोले रिङ बियरको भूमिका निभाएको जनाइएको छ ।
६२ वर्षीय अल्बानिजेले गत वर्ष भ्यालेन्टाइन डेमा द लजमै हेडनलाई प्रस्ताव गरेका थिए । सुरुमा उनले ठूलो समारोहको योजना बनाइए पनि मूल्यवृद्धिको समयमा भव्य विवाहले सरकारको छवि प्रभावित हुन सक्ने भन्दै चुनावपछि सारिएको थियो ।
वित्त क्षेत्रमा काम गर्ने हेडन र अल्बानिजे पहिलोपल्ट २०२० मा मेलबर्नमा भएको एक व्यवसायिक भोजमा भेटिएका थिए ।
