आईपीओ अनुमतिमा ढिलाइ, ८२ कम्पनीको ५५ अर्ब सेयर पाइपलाइनमा
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि आवेदन दिने कम्पनीको संख्या ८२ पुगेको छ।
अध्यक्ष नियुक्ति ढिलाइ, कर्मचारी आन्दोलन र अन्य कारणले नियमित रूपमा आईपीओ अनुमति नदिँदा कम्पनीहरूको पाइपलाइन लामो समयदेखि थुनिएको छ।
हाल ८२ कम्पनीले ५४ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरेका छन्। जलविद्युत् आयोजनाको आईपीओ प्रक्रियामा ढिलाइ हुँदा आयोजनाहरूको पुँजी योजना प्रभावित भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीका अनुसार, बैंक ऋण र स्थानीय लगानी समायोजनमा समस्या देखिएको छ।
धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठका अनुसार, कर्मचारी आन्दोलनका कारण केही कम्पनीको आईपीओ अनुमतिमा ढिलाइ भएको थियो। अध्यक्ष बनेयता बोर्डले १९ कम्पनीलाई आईपीओ, ४ कम्पनीलाई एफपीओ, १६ कम्पनीलाई हकप्रद सेयर, ९ कम्पनीलाई ऋणपत्र, २६ सामूहिक लगानी कोष र ४ कम्पनीलाई एसआईपी अनुमति दिएको छ।
पाइपलाइनमा रहेका कम्पनीमध्ये ४० जलविद्युत्, १९ उत्पादन तथा प्रशोधन, ५ होटल तथा पर्यटन, ४ लगानी समूह र ३ लघु बिमा कम्पनीका आईपीओहरू छन्। लामो समयसम्म अनुमति नपाउँदा बैंक ऋण तिर्न दबाब, अन्डरराइटिङको बारम्बारता र आर्थिक नोक्सानी जस्ता समस्या उत्पन्न भएको छ।
नेपाल स्टक एक्सचेन्जमा हाल २७६ कम्पनी सूचीकृत छन्, जसमा ९४ जलविद्युत्, १३२ बैंक तथा वित्तीय संस्था, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी र अन्य समूहका कम्पनी छन्।
