आइतबार २१ मंसिर, २०८२

बैंकहरुलाई कर्जा असुलीमा सकस, निष्क्रिय कर्जामा वृद्धि

बैंकहरुलाई कर्जा असुलीमा सकस, निष्क्रिय कर्जामा वृद्धि

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाहरुलाई कर्जा असुलीमा समस्या बढ्दै गएको छ । बैंकहरुले विस्तार गरेको ऋण असुली हुन नसक्दा निष्क्रिय कर्जा बढेको हो ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अनुसार बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात २०८२ असोजमा ५.२६ प्रतिशत पुगेको छ ।

२०८१ असोजमा यस्तो अनुपात ४.४२ प्रतिशत रहेको थियो।

२०८२ असोजमा वाणिज्य बैंकको ५.०३ प्रतिशत, विकास बैंकको ६.०३ प्रतिशत र वित्त कम्पनीको १२.५२ प्रतिशत निष्क्रिय कर्जा अनुपात रहेको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले रियलस्टेट व्यवसाय तथा जाजरकोट, रुकुमलगायतका भूकम्प प्रभावित क्षेत्रमा प्रवाहित कर्जा पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइएको छ । ऊर्जा उत्पादन क्षेत्रमा प्रवाह भएका कर्जाको ब्याज पुँजीकरण हुने व्यवस्था मिलाइएको छ ।

यता, आर्थिक वर्ष २०८२/८३ मा विस्तृत मुद्राप्रदाय १३.० प्रतिशत र मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२.० प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक विन्दुगत आधारमा २०८२ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १२.२ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ७.३ प्रतिशतले वृद्धि भएको छ ।