आइतबार २१ मंसिर, २०८२

७ उद्योगलाई फलाम, ग्रेनाइट र चुनढुंगा उत्खनन गर्न सरकारी जग्गा प्रयोग स्वीकृति

७ उद्योगलाई फलाम, ग्रेनाइट र चुनढुंगा उत्खनन गर्न सरकारी जग्गा प्रयोग स्वीकृति

काठमाडौं । सरकारले विभिन्न उद्योगलाई फलाम, ग्रेनाइट र चुनढुंगा उत्खनन गर्न सरकारी जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सात उद्योगलाई सरकारी जग्गा प्रयोग गर्न दिने निर्णय गरेको हो ।

सरकारले शक्ति मिनरल्स प्रालिलाई चुनढुंगा उत्खनन कार्यका लागि पाल्पा माथागढी गाउँपालिका–७ धनुषामा रहेको राष्ट्रिय वनको २१.४१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

त्यस्तै विशक्ति होल्डिङ्स प्रालिलाई चुनढुंगा उत्खनन कार्यका लागि चितवन राप्ती नगरपालिका–१३ स्थित राष्ट्रिय वनको २०.१४ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत सरकारले गरेको छ ।

रिद्धिसिद्धि सिमेन्ट लिमिटेडलाई चुनढुंगा उत्खनन गर्न मकवानपुर भीमफेदी गाउँपालिका–७ स्थित राष्ट्रिय वनको २१.६३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।

त्यस्तै बाबा माइन्स एन्ड मिनरल्स प्रालिाई चुनढुंगा उत्खननका लागि मकवानपुर भीमफेदी गाउँपालिका–५ मा रहेको राष्ट्रिय वनको ४.९९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत भएको छ ।

यस्तै बिग प्लस मिनरल्स प्रालिलाई ग्रेनाइट उत्खनन गर्न मकवानपुर भीमफेदी गाउँपालिका–५ स्थित राष्ट्रिय वनको ४.४८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

केके लाइम्स एन्ड इन्डस्ट्रिज प्रालिलाई चुनढुंगा उत्खनन गर्न उदयपुर चौदण्डीगढी नगरपालिका–८ मा रहेको राष्ट्रिय वनको २ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि भएको छ ।

त्यस्तै अन्नपूर्ण मिनरल्स प्रालिलाई फलाम उत्खनन गर्न मकवानपुर  बागमती गाउँपालिका–६ मा रहेको राष्ट्रिय वनको ४.९६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।