आइतबार २१ मंसिर, २०८२

कांग्रेसको केन्द्रीय कार्यालय पुनर्निर्माण : आर्थिक सहयोग संकलन अभियान शुरू

कांग्रेसको केन्द्रीय कार्यालय पुनर्निर्माण : आर्थिक सहयोग संकलन अभियान शुरू

काठमाडौं । जेनजी आन्दोलनमा आगजनीबाट क्षतिग्रस्त भएको पार्टी केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि नेपाली कांग्रेसले आर्थिक सहयोग संकलन थालेको छ ।

कांग्रेसले पार्टी मातहतका विभिन्न ६ वटा कार्यसमिति, महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य र जनप्रतिनिधिहरूबाट आर्थिक सहयोग संकलन थालेको हो ।

‘चुनौतीपूर्ण र कठिन परिस्थितिमा नेपाली कांग्रेसको भवन पुनर्निर्माण गर्ने संकल्प हामीले लिएका छौं । यो महत्वपूर्ण कार्यमा सबैको अपनत्व, सहकार्य र आर्थिक सहयोग अपरिहार्य छ,’ कोषाध्यक्ष उमेश श्रेष्ठ र मुख्य सचिव कृष्णप्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेको परिपत्रमा  भनिएको छ, ‘त्यसैले, नेपाली कांग्रेस केन्द्रीय कार्यालय र सम्बन्धित संरचनाहरूको पुनर्निर्माणका लागि आवश्यक वित्तीय स्रोत संकलन अभियान सुरू गरिएको छ ।’

संकटको क्षणमा प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, महानगर/उपमहानगर/नगरपालिका, गाउँपालिका र नगर तथा गाउँ वडा कार्यसमितिहरू तथा महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य र पार्टीका क्रियाशील सदस्यहरू तथा पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूबाट उदारतापूर्वक आर्थिक सहयोग, आत्मिय सहभागिता र सशक्त समर्थनको अपेक्षा गरिएको पत्रमा उल्लेख छ ।

कांग्रेसले प्राप्त हुने सहयोग रकमको पारदर्शी तरिकाले अभिलेख राखिने र पूर्ण विवरण पार्टीको केन्द्रीय कार्यालयमार्फत् सार्वजनिक गरिने पनि जनाएको छ ।

परिपत्रमा आर्थिक सहयोग संकलनका लागि प्रदेश र जिल्लामा प्रदेश र जिल्लामा पाँच सदस्यीय छुट्टाछुट्टै समिति बनाउन पनि निर्देशन दिइएको छ ।

परिपत्रअनुसार समितिहरूमा प्रदेश कार्यसमिति र जिल्ला कार्यसमिति सभापतिहरू संयोजक र कोषाध्यक्ष सदस्य रहने गरी अन्य तीन जना सदस्य मनोनित गर्न सकिने छ ।

परिपत्रमा हरेक तहका कार्यसमिति, महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य र पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूका लागि छुट्टाछुट्टै रकम तोकिएको छ ।