आज ३४औँ अन्तरराष्ट्रिय अपाङ्गता दिवस
काठमाडौँ । बुधबार ३४ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ । दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासंघ लगाएत बिभिन्न संघसंस्थाले बुधबार काठमाडौंमा प्रभातफेरीको आयोजना गरेका थिए ।
प्रभातफेरीपछि भृकुटीमण्डपमा मूल समारोहको आयोजना गरिएको थियो । मूल समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार स्थापीत गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । वर्तमान सरकारको कार्यकाल छोटो रहेपनि अपाङ्ग महासंघसंग छलफल गर्दै आवश्यक ऐन कानून निर्माण गरिने उनले बताए ।
त्यस्तै मन्त्री खरेलले ६ महिनाभित्र निर्वाचन गर्ने म्याण्डेडका साथ सरकार गठन भएकाले जसरी भएपनि निर्वाचन सम्पन्न गर्ने दावी गरे । निर्वाचनका लागि सरकारले उचित वातावरण बनाइसकेको उनको भनाइ छ । उनले सुशासन, भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा वर्तमान सरकार अघि बढ्ने स्पष्ट पारेका थिए ।
अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवद्र्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो । यस वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन’ तय गरिएको छ । यसै अवसरमा विभिन्न दल, संघसगठन तथा संस्थाहरुले दिवसको अवसरमा शुभकामना समेत व्यक्त गरेका छन् ।
