आइतबार २१ मंसिर, २०८२

सर्वोत्तम स्टीलको व्यापार ९ अर्ब नजिक, आईपीओ तयारीमा

सर्वोत्तम स्टीलको व्यापार ९ अर्ब नजिक, आईपीओ तयारीमा

काठमाडौँ । व्यवसायी विष्णु न्यौपानेको सौरभ समूहअन्तर्गतको कम्पनी सर्वोत्तम स्टीलले चालु आर्थिक वर्ष २०८२/०८३ को अवधिमा पौन ९ अर्ब रुपैयाँको कारोबार गरेको छ। कम्पनीले सन् २०२४/०२५ मा ८ अर्ब ७२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ, जुन सन् २०२३/०२४ को तुलनामा २७.२३ प्रतिशत (१ अर्ब ८६ करोड ८० लाख रुपैयाँ) बढी हो।

सर्वोत्तम स्टीलले गरेको मुख्य आम्दानी टीएमटी डन्डीको बिक्रीबाट आएको हो, जुन कुल सञ्चालन आम्दानीको ९०% भन्दा बढी ओगटेको छ। बाँकी आम्दानी बिलेट र बाइन्डिङ तारको बिक्रीबाट प्राप्त भएको हो।

कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२४ मा ८.३६% थियो, जुन सन् २०२५ मा सानो गिरावटसहित ८.३५% पुगे पनि स्थिर र मजबुत देखिएको छ।

सर्वोत्तम स्टीलसँग कुल ७ लाख ६४ हजार १६० मेट्रिक टन वार्षिक उत्पादन क्षमता रहेको छ। यसमा ५१% क्षमता बिलेट उत्पादन, ४८% क्षमता टीएमटी उत्पादन, र बाँकी क्षमता तार उत्पादनमा प्रयोग हुन्छ।

कम्पनी सन् २०१७ मा निजी लिमिटेड कम्पनीका रूपमा दर्ता भएको थियो र सन् २०२१ मा सार्वजनिक लिमिटेड कम्पनीमा परिणत भएको हो। पर्सा जिल्लाको वीरगञ्जमा उद्योग रहेको कम्पनीको अध्यक्ष विष्णुप्रसाद न्यौपाने हुन्, जबकि उत्सव न्यौपाने र ममता शर्मा निर्देशक रहेका छन्।

सर्वोत्तम स्टीलले अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारीमा छ।

यता, कात्तिक २०२५ मा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको बैंकिङ सुविधाहरूलाई नयाँ रेटिङ प्रदान गरेको छ। कम्पनीको दीर्घकालीन बैंक सुविधा (१ अर्ब ३ करोड ४६ लाख) लाई IRN BB+ र अल्पकालीन बैंक सुविधा (५ अर्ब ४१ लाख) लाई IRN A–4+ रेटिङ प्रदान गरिएको छ। यससँगै कम्पनीका कुल बैंक सुविधा मूल्य ६ अर्ब ४४ करोड ४६ लाख पुगेको छ।