जीवन बीमा कम्पनीहरूको लगानी ८ खर्ब नजिक, नेपाल लाइफ एक्लैको दुई खर्ब
काठमाडौं । जीवन बीमा कम्पनीहरूको कुल लगानी सात खर्ब ८९ अर्ब रुपैयाँमा पुगेको छ। बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरणअनुसार १४ जीवन बीमा कम्पनीहरूले विभिन्न क्षेत्रमा गरिएको लगानी विस्तार निरन्तर बढ्दो क्रममा देखिएको छ।
प्राधिकरणले लगानीको दायरा बढाउने निर्देशिका जारी गरेपछि जीवन बीमा कम्पनीहरू परम्परागत मुद्दती निक्षेपमा सीमित नबसिकन सरकारी ऋणपत्र, बैंक तथा वित्तीय संस्था, घर–जग्गा, अग्राधिकार शेयर, बण्ड–डिबेञ्चर लगायत विविध क्षेत्रमा लगानी विस्तार गरिरहेका छन्। उच्च प्रतिफल र सुरक्षित आम्दानी पाउन सकिने क्षेत्रमा कम्पनीहरूले विशेष प्राथमिकता दिएको देखिन्छ।
उक्त अवधिमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। कम्पनीले असोज मसान्तसम्ममा मात्र दुई खर्ब दुई अर्ब ५८ लाख रुपैयाँ लगानी गरेको छ। त्यसपछि एलआइसी नेपाल आएको छ, जसको लगानी एक खर्ब १९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। हिमालयन लाइफ इन्स्योरेन्सले ८२ अर्ब १ करोड, नेशनल लाइफ इन्स्योरेन्सले ७० अर्ब ६२ करोड र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ६६ अर्ब ९१ लाख रुपैयाँ लगानी गरेको विवरणमा उल्लेख छ।
त्यसैगरी एशियन लाइफ, सूर्यज्योति लाइफ, मेट लाइफ, सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ र प्रभु महालक्ष्मी लाइफले पनि समीक्षा अवधिमा उल्लेख्य मात्रामा लगानी विस्तार गरेका छन्। अधिकांश कम्पनीहरूले स्थिर प्रतिफल आउने क्षेत्र पहिचान गर्दै दिगो लगानी रणनीति अपनाइरहेका छन्।
जीवन बीमा क्षेत्रमा कुल लगानी तीव्र गतिमा बढ्दै जाँदा बीमा उद्योगको परिसंपत्ति आकार पनि विस्तार हुँदै गएको प्राधिकरणको मूल्यांकन छ।
