कसरा र सिक्किम युनाइटेड पर्यटनबीच भगिनी सम्बन्ध स्थापित
चितवन । चितवनको भरतपुर महानगरपालिका–२२ मा रहेको कसरा पर्यटन व्यवसायी समिति र सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेसन बीच भगिनी सम्बन्ध स्थापित भएको छ ।
पटिहानीको होटल सोल्टीमा आयोजित एक कार्यक्रमका बीच कसरा पर्यटन व्यवसायी समितिका उपाध्यक्ष चोपलाल पाण्डे र सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेसनका अध्यक्ष गणेश शिवाकोटी बीच भगिनी सम्बन्ध स्थापित गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
भरतपुरको प्रमुख पर्यटकीय केन्द्रका रूपमा स्थापित हुँदै गएको पटिहानीको पर्यटन व्यवसायलाई अझै माथि उठाउन नेपाली भाषीहरूको बहुल क्षेत्र सिक्किमसँग दिगो सम्बन्ध राख्ने उद्देश्यले भगिनी साइनो जोडिएको उपाध्यक्ष पाण्डेले बताए ।
कसरा पर्यटन व्यवसायी समिति चितवन र सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेसन वीच भएको सम्झौता पत्रमा वारिपारी (पटिहानी र सिक्किम)को सम्बन्ध अझै प्रगाढ तथा गाढा बनाउने, दुई पक्षीय पर्यटन आदानप्रदान गर्दै दुवै तर्फबाट नयाँ सम्भावनाहरूको अध्ययन गर्ने, दुवैतर्फको संस्कृति आदानप्रदान गर्ने, अर्गानिक खेती प्रणालीको सिकाइ अनुभव आदान प्रदान गर्ने, पर्यावरण र वातावरण संरक्षण, दिगो पर्यटन विकासका लक्ष्यहरू निर्धारण, पर्यटन विकास कार्यशाला सञ्चालन गर्ने जस्ता विषय समेटिएका छन् ।
सिक्किमले ग्रामिण र दिगो पर्यटनमा गरेका असल अभ्यासहरूका सिकाइलाई पटिहानी कसरा क्षेत्रमा पनि आदिवासी थारु जातिलाई मुख्य प्राथमिकतामा राखेर विभिन्न कामहरू गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
पटिहानी र भारतको सिक्किम बीचको पर्यटन प्रवर्द्धन स्थापित भगिनी सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आफूले लिएको सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेशनका अध्यक्ष शिवाकोटीले जानकारी दिए ।
उनले पटिहानी कसरा क्षेत्रको वाइल्डलाइफ, थारु जातिको मौलिक कला संस्कृति, कृषि र उद्यमशीलता, होटल तथा होमस्टे, चितवन राष्ट्रिय निकुञ्जका विविध पक्षहरुका बारेमा सिक्किममा प्रसारप्रचार गरिने बताए ।
