आइतबार २१ मंसिर, २०८२

हेटौंडामा सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वोच्चको उत्प्रेषण आदेश

हेटौंडामा सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वोच्चको उत्प्रेषण आदेश

काठमाडौं । सर्वोच्च अदालतले हेटौंडाको सडक विस्तार सम्बन्धी सूचना कार्यान्वयन नगर्न उत्प्रेषण आदेश दिएको छ ।

पूर्वप्रतिनिधिसभा सदस्यसमेत रहेकी विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलाशले आज १९ मंसिर शुक्रबार सडक विस्तारको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भन्दै सडक डिभिजन कार्यालय हेटौंडाको नाममा आदेश दिएको हो ।

हेटौंडाकी स्थायी बासिन्दासमेत रहेकी कंसाकारले अन्तिम आदेश माग गर्दै गत १६ मंसिरमा सडक डिभिजनविरुद्ध रिट दायर गरेकी थिइन् ।

सडक डिभिजनले गत ५ मंसिरमा महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५-२५ गज (७५-७५ फिट) विस्तारका लागि भन्दै सडक सीमाभित्रका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिँदै सूचना निकालेको थियो ।