इजरायल जाने ‘लक्की ड्र’ मा नपरेका केयरगिभर उम्मेदवारले मागे प्राथमिकता, नयाँ विज्ञापन नखोल्न माग
काठमाडौं । इजरायलमा केयरगिभरका रूपमा जान वञ्चित भएकाहरूले नयाँ विज्ञापन नखोल्न माग गरेका छन् ।
गत वर्ष भएको विज्ञापनमा सम्पूर्ण प्रक्रिया पूरा गरेर लक्की ड्रमार्फत ‘आउट’ भएका उम्मेद्वारहरूले आफूहरूलाई प्राथमिकता नदिई नयाँ विज्ञापन नखोल्न माग गरेका हुन् ।
उनीहरूले श्रम मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म ज्ञापनपत्र बुझाउँदै आफूहरूलाई इजरायल पठाउने प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेका छन् ।
इजरायलमा ‘जीटुजी’ प्रक्रिया अन्तर्गत सहायक कामदारका रूपमा नेपालबाट इजरायल पठाउने पठाउने गरिएको छ । दोस्रो चरण अन्तर्गत ११ असार २०८१ मा विज्ञापन खुलेको थियो ।
त्यसपछि लिखित परीक्षा, कागजात प्रमाणीकरण, स्वास्थ्य परीक्षण लगायत सबै चरण पूरा गरेका ३ हजार ४ सय ३ जनामध्ये गोलाप्रथाबाट २ हजार २ सय २ जनामात्र छनोट भएका थिए भने १ हजार २ सय १ जना लक्की ड्रपछि आउट भएका थिए ।
यही समूहका १ हजार २ सय १ जनाले आफूहरूलाई नै प्राथमिकतामा राखेर इजरायल पठाउन व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।
गोलाप्रथाबाट बाहिरिएपछि आफूहरूको भविष्य अन्योलमा परेको उनीहरूले जनाएका छन् । तर, सरकारले नयाँ विज्ञापन खोल्ने तयारी गरिरहेको खबर सार्वजनिक भइरहेको बताउँदै त्यसले झन् अनिश्चितता बढाएको जनाएका छन् ।
समूहका प्रतिनिधिले वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत निकायमा ज्ञापनपत्र बुझाउँदै सरकारको प्रक्रियागत ढिलाइका कारण महिनौंदेखि प्रतीक्षामा बस्नुपरेको बताए ।
