बंगलादेशको कच्चा जुट निर्यात प्रतिबन्धले धर्मराउँदै नेपाली उद्योग
काठमाडौं । झन्डै दुई महिनाअघि बंगलादेशले कच्चा जुट निर्यातमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइदिएपछि नेपाली जुट उद्योगहरू संकटमा परेका छन् ।
बंगलादेशमा उत्पादन घटेको भन्दै गरिएको यो प्रतिबन्धले भारतबाट महँगोमा कच्चा जुट ल्याएर सामान उत्पादन गरी पुनः भारत निकासी गर्दा लागत बढेर नाफा प्रभावित भएको छ ।
जुट उत्पादन घटेको र आफ्नै उद्योगलाई कच्चा पदार्थ आवश्यक हुने भन्दै बंगलादेशले सेप्टेम्बर ८ मा कच्चा जुट निर्यातमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो । बंगलादेशको वाणिज्य मन्त्रालयले सेप्टेम्बर ८ मा निर्यात सूचीलाई ‘सशर्त’ बनाउँदै कच्चा जुट निर्यात नियन्त्रणमा राखेको परिपत्र जारी गरेको थियो । तर, नेपाली उद्योगीहरूको भनाइमा आवश्यक कागजात पेश गरे पनि निर्यात अनुमति दिइएको छैन । भारतमा पनि यो वर्ष जुट उत्पादन घटेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
सुनसरी मोरङ औद्योगिक कोरिडोरका जुट उद्योगहरूले केही वर्षयता मूलतः बंगलादेशबाटै कच्चा जुट ल्याएर जुटका तयारी सामान भारत निर्यात गर्दै आएका थिए । यो क्षेत्रमा रहेका ६ ओटा जुट मिलले अहिले भारतबाट केही महँगो मूल्य तिरेर जुट आयात गरिरहेको बताएका छन् ।
नेपाल जुट उद्योग संघका महासचिव सोम अधिकारीका अनुसार बंगलादेशले निकासी रोकेपछि भारतीय जुट आयात गर्नुपर्ने हुन्छ, तर भारतीय कच्चा जुटबाट उत्पादित वस्तुले भारतीय उद्योगको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले समस्या बढेको छ । उनले भने, ‘बंगलादेशले निर्यात सुचारु गरेन भने नेपाली उद्योगको उत्पादन आधाभन्दा बढी घट्ने खतरा छ ।’
संघका अनुसार सुनसरी–मोरङ औद्योगिक कोरिडोरका ६ ओटा जुट उद्योगलाई वार्षिक झन्डै ७० हजार टन कच्चा पदार्थ आवश्यक पर्छ । सोमध्ये करीब २० हजार टन स्वदेशी उत्पादनले धान्छ । बाँकी भारत र बंगलादेशबाट आयात गर्नुपर्ने हुन्छ । अहिले भारतको तुलनामा बंगलादेशमा प्रतिकिलो १०–१५ रुपैयाँ सस्तोमा कच्चा जुट पाइने उद्योगीहरूको भनाइ छ ।
भारतले नेपाली तयारी जुटमा लगाएको ४ प्रतिशत एन्टी–डम्पिङ शुल्कका कारण विगत दशकदेखि निर्यात संकट भोगिरहेका नेपाली जुट उद्योग पछिल्लो समय तुलानात्मक सस्तो बंगलादेशी कच्चा जुटमा बढी निर्भर हुँदै आएका थिए । गुणस्तर राम्रो हुनुका साथै मूल्य पनि भारतको तुलनामा सस्तो भएकाले उद्योगीको आकर्षण बंगलादेशी जुटमा बढेको थियो ।
अहिले भारतबाट महँगोमा कच्चा पदार्थ आयात गरेर भारतमै बेच्दा भारतीय जुट उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन भएको यहाँका उद्योगी बताउँछन् । नेपालका जुट उद्योगले आफ्नो उत्पादनको करीब ९५ प्रतिशत सामग्री भारत निर्यात गर्छन् ।
वर्षा सकिएसँगै नयाँ जुट बजारमा आए पनि अन्तरराष्ट्रिय रूपमै जुट उत्पादन घटेका कारण त्यसको मूल्यवृद्धि भएको र बंगलादेशले आफ्ना उद्योगलाई नै अपुग हुने भन्दै कच्चा जुट निकासीमा रोक लगाएको नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले बताए ।
पछिल्लो समय भारतीय जुट महँगो भएपछि उद्योगीहरूले बंगलादेशको जुट आयात गरी जुटका सामान उत्पादन गर्दै आएका थिए ।
पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव जुट उत्पादनमा समेत परेको र सबैतिर यसको उत्पादन अनपेक्षित रूपमा घटेको कारण समस्या उत्पन्न भएको गोल्छाले बताए । उनका अनुसार बंगलादेशले जुटको र्यान निकासी भने रोकेको छैन ।
बंगलादेशबाट कच्चा जुट नै आयातका लागि कूटनीतिक पहल गर्न आफूहरूले नेपाल सरकारलाई आग्रह गरेको उनले बताए । प्रभावकारी कूटनीतिक पहल भए यहाँका उद्योगको उत्पादनले भारतीय बजारमा राम्रो मूल्य पाउने अवस्था रहने र जुट उद्योगलाई राहत हुने उनले बताए ।
बंगादेशमा यस वर्ष करीब १ लाख टनले उत्पादन घटेको त्यहाँको सरकारले उल्लेख गरेको छ । गत वर्ष बंगलादेशमा १७ लाख टन कच्चा जुट उत्पादन भएकोमा यो वर्ष १६ लाख टनमा सीमित छ । बंगालदेशमा डेढ सयभन्दा बढी जुट उद्योग सञ्चालनमा रहेकाले आन्तरिक माग धान्न निर्यात रोकिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन ।
भारतमा पनि कच्चा जुट उत्पादन विगत १ दशकमा घट्दो क्रममा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जुट उत्पादन आर्थिक वर्ष २०११/१२ को तुलनामा २०२४/२५ मा २९ प्रतिशतभन्दा धेरैले घटेको भारतीय कृषि तथा कृषक कल्याण मन्त्रालयको तथ्यांक छ । भारत र बंगलादेश विश्वमै धेरै कच्चा जुट उत्पादन गर्ने देश हुन् । भन्सार विभागको तथ्यांकअनुसार गतवर्ष नेपालबाट ८ अर्ब रुपैयाँभन्दा बढीका जुटका सामग्री भारत निकासी भएको छ । चालू आवको साउनमा भारतबाट ५ करोड ६५ लाख मूल्य बराबरको ४ लाख ३२ हजार किलो जुट आयात भएको छ । उक्त महीना बंगलादेशबाट २८ करोड ५७ लाख मूल्य बराबरको २४ लाख किलो जुट आएको थियो ।
बंगलादेश र भारत दुवैलाई जुट उत्पादनको ‘हब’ मानिन्छ । तर, यस वर्ष दुवै मुलुकमा उत्पादन घट्दा मूल्य बढेको छ ।
