आइतबार २१ मंसिर, २०८२

महानगरको ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत ५५ किलोमिटर सडक कालोपत्रे

महानगरको ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत ५५ किलोमिटर सडक कालोपत्रे

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाको गौरवको योजना ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत हालसम्म ५५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।  पूर्वाधार सुधार गरी सडकलाई धुलोरहित बनाउने यो बहुवर्षीय योजना हो । तीन वर्षसम्म निरन्तर चल्ने यस कार्यक्रमको कुल लागत २ अर्ब ५२ करोड ४७ लाख रुपैयाँ रहेको महानगरपालिकाले जनाएको छ । यसका लागि हरेक वर्ष करिब १ अर्ब रुपैयाँ खर्च हुने अनुमान महानगरले गरेको छ ।    

वडाबाट प्राप्त मागका आधारमा सार्वजनिक निर्माण विभागबाट सञ्चालन हुने यस कार्यक्रममा सडकका खाल्डाखुल्डी पुर्ने  मर्मत गर्ने  कालोपत्रे गर्ने तथा आवश्यकताका आधारमा ढलान र ढल मर्मत गर्ने जस्ता कार्यहरू समावेश छन् ।  समग्रमा २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको यो कामका लागि काठमाडौँलाई ४ भाग (प्याकेज) मा विभाजन गरिएको छ ।  सार्वजनिक खरिद प्रक्रियामार्फत प्रतिस्पर्धामा छानिएका निर्माण कम्पनीहरूलाई कामको जिम्मा दिइएको महानगरले जनाएको छ ।    

महानगरपालिकाका अनुसार पूर्वी क्षेत्रको प्याकेजअन्तर्गत वडा नं. ६  ७  ८  ९  १०  ३१ र ३२ गरी ७ वटा वडाहरु पर्छन् । यी वडाहरुमा काम गर्न करिब ९० करोड रुपैयाँको लागत अनुमान गरिएकोमा सार्वजनिक खरिद प्रक्रियाबाट ७९ करोड ५७ लाख रुपैयाँमा सम्झौता भएको छ । यसको जिम्मा ‘वल्र्डवाइड–कोहिनुर–रमिता जेभी’ ले पाएको छ ।  निर्माण पक्षसँग २०८१ असोज १४ गते सम्झौता भएको हो भने सम्झौताको अवधि २०८३ असार मसान्तसम्म रहेको छ ।    

योजनाका पूर्वी क्षेत्रका फोकल पर्सन वरिष्ठ इन्जिनियर सन्दीप ढकालका अनुसार  हालसम्म १८ किलोमिटर सडक कालोपत्रे र ३.५ किलोमिटर सडक ढलान गरिएको छ । जसअन्तर्गत वडा नं. ६ को सिमलटार  पाटीटार नयाँ बस्ती  तीनचुली आरुबारी हुँदै बौद्धसम्मको भित्री सडक कालोपत्रे गरिएको छ । त्यस्तै  वडा नं. ९ को बत्तीसपुतली क्षेत्र  वडा नं. ३२ को महादेवस्थान कोटेश्वर  बालकुमारी पुलदेखि दोभान पुलसम्मको करिडोर र पेप्सीकोला प्लानिङभित्रका सडकहरू कालोपत्रे भएका छन् ।  सूर्यकोट र गैरीगाउँका विभिन्न भित्री सडकहरूको कालोपत्रे गर्ने काम पनि सकिएको छ ।    

पश्चिम क्षेत्रमा वडा नं. १३  १४  १५ र १६ पर्छन् । ७४ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको यस क्षेत्रका लागि ‘पीआर के एण्ड के जी एण्ड अम्बुजा’ सँग ६५ करोड ५७ लाख रुपैयाँमा सम्झौता भएको छ । निर्माण पक्षलाई २०८२ वैशाख ४ गते कार्यादेश दिइएको छ भने कामको म्याद २०८४ वैशाख मसान्तसम्म रहेको छ ।    

यस क्षेत्रका फोकल पर्सन वरिष्ठ इन्जिनियर माधव काफ्लेका अनुसार  ४ वटा प्याकेजमध्ये यसमा सबैभन्दा पछि सम्झौता भएकाले हालसम्म डेढ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । तर  करिब ८ किलोमिटर सडक सुधारको काम भइरहेको छ ।    

यस प्याकेजमा लामो समयदेखि स्वामित्व विवादमा रहेको बालाजु बाइपासबाट बालाजु उद्यान हुँदै चोकसम्मको १ हजार १६० मिटर लामो सडक  विष्णुमती करिडोरअन्तर्गत वडा नं. १३  १४  १५ र १६ का क्षेत्र  कुलेश्वर–टेकु सडक  भगवती मन्दिर (कुमारी क्लब)  कुलेश्वर लिंक मार्ग र शीतला स्कुलदेखि नागरिक बजार चोक (जामाचो मार्ग) सम्म काम हुनेछ । त्यस्तै  सोह्रखुट्टे–पकनाजोल  चाक्सीबारीदेखि जेपी चोक  कुलेश्वर फलफूल बजार  बालाजु हाइटको गणेश मन्दिरदेखि नागार्जुन पर्खालसम्म  शीतला मार्गदेखि पहिरा लिंक मार्ग  उमा महेश्वर मार्ग  रवि भवन र बल्खुको सर्भिस ट्रयाकसहितका सडकहरूमा निर्माण कार्य हुन महानगरले जनाएको छ।  

उत्तर क्षेत्रमा वडा नं. १  २  ३  ४  ५  २६  २८  २९ र ३० पर्छन् ।  करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको यस योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा ‘ढुकुछु–आरए जेभी’ सँग सम्झौता भएको छ ।  निर्माण पक्षसँग २०८१ असार ७ गते सम्झौता भएको हो र यसको अवधि २०८३ असार मसान्तसम्म रहेको छ ।    

मध्य क्षेत्रमा भित्री वडाहरु (वडा नं. ११  १२  १७  १८  १९  २०  २१  २२  २३  २४  २५ र २७) पर्छन् । यसका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा बोलपत्रमार्फत करिब ३४ करोड ३३ लाख रुपैयाँ कबोल गर्ने ‘अर्याल–युएसजी–आरएस लक्ष्मी जेभी’ ले ठेक्का पाएको छ ।   निर्माण पक्षसँग २०८१ जेठ २९ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८४ जेठ मसान्तसम्म छ ।    

यस क्षेत्रमा हालसम्म ४.५ किलोमिटर सडक कालोपत्रे भएको छ । फोकल पर्सन इन्जिनियर समीर अधिकारीका अनुसार १.२ किलोमिटर सडक ढलान र १.५ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम भएको छ ।   वडा नं. ११ का सूर्य मार्ग  समिति मार्ग  कारागार मार्ग र कुमारी समिति मार्ग; वडा नं. १२  १७  १८  १९ र २० छुने विष्णुमती करिडोर; वडा नं. १२ को पचली भैरव सडक र परिसर; वडा नं. १७ को इखापोखरी–क्षेत्रपाटी सडक  क्षेत्रपाटी–ढल्कु सडक र वडा नं. २७ को ज्याठा मार्गमा कालोपत्रे गरिएको छ ।    

यस्तै  वडा नं. ११ को भोटेबहाल–पीपलबोट सडक  वडा नं. १२ मा पर्ने टेकु ट्रान्सफर स्टेसन र दुवै वडा छुने वंशीघाट मार्गमा ढलान गरिएको छ ।     अब वडा नं. ११ को नदी करिडोरमा कालोपत्रे  वडा नं. २१ मा ढल तथा सडक निर्माण र वडा नं. २३ तथा २७ मा ढुङ्गा छाप्ने कार्य सुरु हुन लागेको महानगरले जनाएको छ ।